Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सौराहामा पाँचतारे ‘रोयल टुलिप’ रिर्सोट सञ्चालन गर्ने


काठमाण्डौं । पर्यटकीय नगरी चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ सञ्चालनमा आउने भएको छ । हस्पिटालिटी व्यवसायमा विश्व बजारमा सफलता हासिल गरिरहेको फ्रान्सेली ‘लुभ्र होटल्स’ ग्रुपसँगको ब्राण्ड सहकार्यमा रिसोर्ट सञ्चालनमा ल्याउन लागिएकाे हाे ।

राजधानीमा मंगलबार आयोजित एक समारोहमा परराष्ट्र मन्त्री नारायण खड्का संलग्न कार्यक्रममा केटिएम हस्पिटालिटीका तर्फबाट अध्यक्ष रामेश्वर शाह र लुभ्र होटल्स इण्डियाका तर्फबाट निर्देशक अजय बकायाले ब्राण्ड सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार साैराहामा लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ सञ्चालनमा ल्याइनेछ ।

हस्ताक्षार कार्यक्रमलाई सम्बाेधन गर्दै केटिएम हस्पिटालिटीका अध्यक्ष शाहले पर्यटन क्षेत्र सदैव नेपालीको अर्थतन्त्रको बलियो खम्बा भएकाे हुँदा रिसाेर्ट सञ्चालन गर्न लागेकाे बताए । उनले काेराेना (काेभिड–१९) महामारीले थलिएकाे पर्यटन क्षेत्र विस्तारै सुधारकाे बाटाेमा गइरहेकाले रिसाेर्ट सञ्चालनले याे क्षेत्रमा याेगदान पुग्ने बताए ।

लुभ्र होटल्सका निर्देशक बकायाले नेपाल पर्यटकीय गन्तव्यको ‘हटस्पट’काे रूपमा अगाडि बढिरहेको हुँदा भारतीय लगायत विश्वभरबाट यहाँ आउने पर्यटकलाई आफूहरूले आरामदायी र भरपर्दो सेवा दिनेमा विश्वस्त गराए । 

यस्तै परराष्ट्रमन्त्री खड्काले पर्यटनको ‘हब’ नेपालमा विश्वस्तरको अनुभव सँगालेको ब्राण्ड भित्रिनु गौरवको विषय भएको बताए । युरोपकै दोश्रो ठुलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्राण्डसहित उपस्थित रहेको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड ‘रोयल टुलिप’ ले कोभिड महामारीकाबीच शिलान्यास भई निर्माण सुरु भएको ६४ कोठा सहितको यस रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्नेछ ।

कोभिड महामारीले थलिएको अर्थतन्त्रलाई सहयोग गर्ने र रोजगारी सहित विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गर्ने उद्देश्य सहित २०७७ मंसिर १५ मा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवले संयुक्तरूपमा शिलान्यास गरेका थिए । यस रिसोर्टलाई सुरुमा अत्याधुनिक सुविधासम्पन्न बुटिक रिसोर्ट ‘दि फरेस्ट फ्रन्ट’का नामबाट सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । पछि लक्जरी रिसोर्टकाे रूपमा सञ्चालन गर्ने तय गरिएकाे हाे ।

वनजंगल, वन्यजन्तु, कला संस्कृति एवं हावापानीले सबैलाई मन्त्रमुग्ध बनाउँदै आएको सौराहामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विश्वस्तरको गुणस्तरीय सेवा दिने उद्देश्यले निर्माण थालिएको अत्याधुनिक रिसोर्टलाई विश्वभरका ६० भन्दा बढी देशहरुमा १ हजार ६ सय भन्दा बढी होटलहरु सञ्चालन गरेको अनुभव सहितको ब्राण्डसँगको सहकार्यले झनै उचाईमा लैजाने विश्वास लिइएको छ ।

करिब ३४ रोपनी क्षेत्रमा बनाइएका २२ वटा भवनमा सुइट्लगायत ५ प्रकारका विविध सुविधा सहितका कोठाहरू रहने रिसोर्टमा आगन्तुक पाहुनाले डुंगा सयर, जलमहलको बास, स्विमिङ पुल, हेल्थ क्लब, स्पा, चिल्ड्रेन पार्क, एमपी थियटर, पदयात्रा मार्ग, आफ्नै बेकरी सहितको ग्रिल बार र रेष्टुरेण्ट जस्ता सेवाहरु पाउने छन् ।

नेपाली संस्कृति झल्किने स्थानीय र मौलिक सामग्रीहरुको प्रयोग गरी निर्माण हुँदै गरेको रिसोर्ट निर्माण भईसक्दा करिब ८५ करोड रुपैयाँ कूल लागत लाग्ने अनुमान छ । रिसोर्ट विक्रम संवत् २०८० को दशैंताका सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।


Read Previous

नबिलले गर्यो एकिकृत कारोबारको सुरुवात

Read Next

बैशाखदेखि ५५ राष्ट्रिय राजमार्गमा समस्या, २ अझै अवरुद्ध ७ एकतर्फी सञ्चालन

Leave a Reply

Your email address will not be published.