
काठमाडौं । बेनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि भदौ २२ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपीओ वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो।
सर्वसाधारणका लागि कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ३ हजार २०० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ३ अर्ब ५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
बेनी हाइड्रोपावरले १८.२ मेगावाट क्षमताको माथिल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको लागत करिब ३ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ सम्म कम्पनीको प्रतिशेयर आम्दानी २२.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२२.४३ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। सो अवधिमा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ सञ्चित नाफा कमाएको छ।

