
काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार उक्त सञ्चिति १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २६ अर्ब ४८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा मुलुकको बाह्य क्षेत्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्।
राष्ट्र बैंकका अनुसार चालु खाता १६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ।
यस अवधिमा विप्रेषण आप्रवाह पनि उल्लेख्य बढेको छ। नेपाली रुपैयाँमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले र अमेरिकी डलरमा १३.५ प्रतिशतले वृद्धि भएको छ। भदौ महिनामा मात्रै २२१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ।
व्यापारतर्फ निर्यात ६१.९ प्रतिशतले र आयात ३१.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
यस्तै, वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ। समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धिदर १४.९ प्रतिशत रहेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.९ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ।
सरकारी वित्ततर्फ समीक्षा अवधिमा नेपाल सरकारको खर्च १९९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन १८३ अर्ब २१ करोड रुपैयाँ रहेको छ।
ब्याजदरमा भने कमी देखिएको छ। बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.३५ प्रतिशत रहेको छ।
यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी मुद्रा सञ्चिति, विप्रेषण, चालु खाता र शोधनान्तर बचतमा सुधार देखिए पनि मुद्रास्फीति र आयात वृद्धिलाई अर्थतन्त्रका महत्वपूर्ण सूचकका रूपमा औंल्याएको छ।


