Nepal Purbadhar

बाढी प्रभावित क्षेत्रमा टेलिकमको फाइबर नेटवर्क, पहिलो चरणको सेवा पुनःसञ्चालन


काठमाडौं। गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन्न भएको छ।

बाढीले रसुवागढी र बेत्रावतीमा १/१ ओटा गरी २ ओटा ओएलटी (OLT), रसुवागढीमा १, बेत्रावतीमा १ र त्रिशूलीमा ३ ओटा गरी ५ ओटा एफडीसी (FDC) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो। त्यसका कारण ती क्षेत्रमा सञ्चालित कुल १ हजार ५४४ ओटा एफटीटीएच (FTTH) लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।

विपद्‌लगत्तै प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत-साधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइएको टेलिकमले जनाएको छ। हालसम्म प्रभावितमध्ये १ हजार ९३ ओटा लाइन पुनःसञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुनःसञ्चालन सम्पन्न भएको हो।

बाँकी लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने टेलिकमले जनाएको छ।

प्राकृतिक विपद्को विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता र विश्वासप्रति नेपाल टेलिकमले आभार व्यक्त गरेको छ।


Read Previous

ग्यासको माग गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन- (तस्बीरहरू)

Read Next

चिलिमे जलविद्युत् आयोजनामा खोज तथा उद्धारसँगै पहुँच मार्ग पुनर्निर्माण तीव्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar