
काठमाडौँ। चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरे।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले नेपालको सुख-दुःखमा चीन सदैव साथमा रहने बताए। उनले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए।


