Nepal Purbadhar

भरतपुर अस्पतालमा फोटो बोकेर शवको पर्खाइमा आफन्त


चितवन । रसुवा हुँदै आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएकाको शव भेटिने आशमा आफन्तहरू भरतपुर अस्पतालको पोस्टमार्टम घरबाहिर घण्टौँदेखि कुरिरहेका छन्। कसैले बेपत्ता आफन्तको फोटो प्रिन्ट गरेर ल्याएका छन् भने कसैले मोबाइलमा तस्बिर देखाउँदै शव भेटिए खबर गरिदिन आग्रह गरिरहेका छन्।

भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि अस्पतालको पोस्टमार्टम घरबाहिर दुई युवकको फोटो बोकेर बसेका छन्। उनीहरू माधव न्यौपाने र सबिन न्यौपानेको खोजीमा त्यहाँ पुगेका हुन्।

माधव र सबिन नाताले लिलावतीका भाइ हुन्। तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीमा परेपछि बुधबारदेखि उनीहरू सम्पर्कविहीन छन्।

ठाकुरका अनुसार माधव चीन र नेपालबीच सामान आयात–निर्यातको काममा संलग्न थिए भने सबिन बैंकमा कार्यरत थिए। रसुवाबाट बगाएर ल्याइएका शव चितवनसम्म भेटिन सक्ने आशमा उनीहरू भरतपुर अस्पताल पुगेका हुन्।

अस्पतालमा संकलन गरेर ल्याइएका शवसमेत उनीहरूले हेरे। तर खोजी गरिरहेका दुवै युवक भेटिएनन्।

बाढीपछि संकलन गरिएका शवको अवस्था अत्यन्तै दर्दनाक रहेको ठाकुरले बताए। “केही शवको टाउको नै छैन। केही शव चिनियाँ नागरिकजस्तो देखियो,” उनले भने, “हामीले खोजिरहेकाहरू यहाँ भेटिएनन्।”

भरतपुर अस्पतालको शवगृहबाहिर उनीहरूजस्तै अन्य बेपत्ताका आफन्त पनि फोटो बोकेर बसेका छन्। कसैले कागजमा फोटो प्रिन्ट गरेर ल्याएका छन् भने कसैले मोबाइलमा फोटो राखेर शव पहिचानको पर्खाइमा छन्।

बाढीमा बेपत्ता आफन्तको कुनै अत्तोपत्तो नभएपछि उनीहरू शव भेटिएला कि भन्ने आशमा अस्पतालसम्म धाइरहेका छन्।

📸 तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


Read Previous

हिमतालको जोखिम घटाउन चीनसँग संयुक्त संयन्त्र बनाउन ८ दलको माग

Read Next

त्रिशूली–नारायणीबाट ६९ शव फेला, भरतपुरमा शव व्यवस्थापन कठिन बन्दै, अस्पतालको शवगृह भरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar