Nepal Purbadhar

पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल सक्रिय


काठमाडौँपूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित अभियानअन्तर्गत पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यको अवलोकन गर्नुका साथै स्थानीय सरकार, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक र समुदायसँग पर्यटन विकासका सम्भावना, चुनौती र भावी रणनीतिबारे छलफल गरेका छन्।

भ्रमणका क्रममा टोलीले इलामको श्री अन्तुमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको थियो। कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा साहसिक पर्यटनका दृष्टिले कोशी प्रदेश अत्यन्तै सम्भावनायुक्त रहेको भन्दै यसको योजनाबद्ध विकास आवश्यक रहेको बताइन्।

उनले धार्मिक तीर्थस्थल, पुरातात्विक सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। विशेषगरी कृषि पर्यटनलाई प्राथमिकतामा राखी स्थानीय उत्पादन, परिकार, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सकिने उनको भनाइ थियो।

बरालले स्थानीय तहहरूले आफ्नो क्षेत्रका पर्यटकीय सम्पदा र सांस्कृतिक विशेषताको पहिचान गरी एकीकृत पर्यटन प्याकेज विकास गर्नुपर्ने तथा स्थानीय सरकार, पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, यातायात व्यवसायी र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन्। साथै पर्यटन क्षेत्रका चुनौती समाधानका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारी थप बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिइन्।

अन्तरक्रियामा सहभागी स्थानीय पर्यटन व्यवसायीहरूले पूर्वी नेपालका कम परिचित गन्तव्यको प्रभावकारी प्रवर्द्धन गर्न सके पर्यटनको लाभ दुर्गम गाउँसम्म पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले समुदायमा आधारित पर्यटन, ग्रामीण पर्यटन र स्थानीय उद्यम प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संस्थाबीच सहकार्य बढाउनुपर्ने धारणा राखे।

अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालले श्री अन्तु नेपालको प्रमुख सूर्योदय अवलोकन गन्तव्यका रूपमा परिचित रहेको बताउँदै यहाँ न्यून बजेटका होमस्टेदेखि उच्चस्तरीय होटलसम्म सञ्चालनमा रहेको जानकारी दिइन्। उनले पर्यटन पूर्वाधार निर्माण, प्रवर्द्धन र संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउन स्पष्ट सरकारी नीति आवश्यक रहेको बताइन्।

अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले ग्रामीण पर्यटन विस्तारमा होमस्टे प्रभावकारी माध्यम भएको उल्लेख गर्दै पूर्वी नेपालका गाउँहरूमा होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताए। छोटो दूरीमै फरक–फरक हावापानी, प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक अनुभव लिन सकिने भएकाले पूर्वी नेपाललाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो।

सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको प्रमुख आधार मानेर सडक, पदमार्ग, पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्य संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनका अनुसार चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार तथा गन्तव्य विकासका विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको छ भने महिला, बालबालिका र स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ।

प्रवर्द्धनात्मक भ्रमणका क्रममा टोलीले काठमाडौँबाट यात्रा सुरु गरी कोशी ब्यारेज, झापा, इलाम, श्री अन्तु र बराहक्षेत्रलगायतका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो। भ्रमणका क्रममा स्थानीय सरकार, पर्यटन व्यवसायी, समुदाय तथा अन्य सरोकारवालासँग पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, गन्तव्य व्यवस्थापन र सीमा पर्यटनका अवसरबारे पनि छलफल गरिएको थियो।

महिला पर्यटन व्यवसायी सञ्जालले यस्ता अभियानले नयाँ पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित गराउनुका साथै स्थानीय समुदायको आयआर्जन, महिला उद्यमशीलता, ग्रामीण पर्यटन विस्तार र दिगो पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। सञ्जालले आगामी दिनमा पनि देशका विभिन्न प्रदेशमा यस्ता प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


Read Previous

काठमाडौँ-हेटौडा जोड्ने देउराली, जहाँ हुन्छ १० मिनेटमै फरक मौसमको अनुभूति, बादलसँग लुकामारी

Read Next

धुलिखेल-खावा सडकखण्ड राति बन्द नहुने, वर्षाका कारण समस्या हुँदा समयमै सम्पन्न पनि नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar