Nepal Purbadhar

विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

फाईल तस्बीर


काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तन र अनुसन्धानमार्फत स्वदेशमै अवसर सिर्जना गर्न सके विदेशिने क्रम घटाउन सकिने बताएका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय स्थापना भएपछि यस क्षेत्रको बजेट बढ्न थालेको बताए।

उनले विगतमा आविष्कार केन्द्र स्थापना गर्न गरेको प्रयास स्मरण गर्दै अघिल्ला सरकारले विज्ञान र प्रविधिलाई पर्याप्त प्राथमिकता नदिएकाले आफू राजनीतिमा आउनुपरेको बताए।

मन्त्री पुनका अनुसार मन्त्रालयका लागि पुँजीगत बजेटको एक प्रतिशत अर्थात् करिब चार अर्ब रुपैयाँ विनियोजन गरिएको छ। बजेट प्रस्तुत हुँदा मन्त्री नियुक्त नभएकाले तीन अर्ब ४० करोड रुपैयाँ अवण्डामा राखिएको उनले जानकारी दिए।

उनले प्रदेश र स्थानीय तहलाई पनि आफ्नो पुँजीगत बजेटको एक प्रतिशत विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गरिएको बताए।

मन्त्री पुनले मन्त्रालयले नेतृत्व पाएपछि आवश्यक कानुन निर्माण, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण र अन्य संस्थागत तयारीका काम अघि बढाएको जानकारी दिए। साथै युवा वैज्ञानिकबाट अनुसन्धान प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको पनि उनले बताए।

उनका अनुसार ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ अहिले विचाराधीन छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट पनि बढाइनेछ।

नेपालमा हालसम्म केवल ९० वटा मात्रै पेटेन्ट दर्ता भएको उल्लेख गर्दै मन्त्री पुनले यसमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गरे। विज्ञान र प्रविधिमा गरिने खर्चलाई दीर्घकालीन लगानीका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।

उनले विकसित देशहरूले विज्ञान र प्रविधिमा निरन्तर लगानी गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै नेपालले पनि यस क्षेत्रमा बजेट बढाउनुपर्ने र विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्रतिभालाई स्वदेश फर्काएर उनीहरूको ज्ञान र सीप उपयोग गर्ने दिशामा मन्त्रालयले काम गरिरहेको बताए।


Read Previous

एडीबी अध्यक्ष काठमाडौंमा, ‘नेपालको लचिलोपनलाई दिगो विकासमा रूपान्तरण गर्न सहयोग गर्छौं’

Read Next

कर्णाली नदीमा बेपत्ता बसको खोजी र राजमार्ग स्तरोन्नतिको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar