
काठमाडौं, २२ असार । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आगामी साउन २६ देखि ३१ गते (११-१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का मुख्य विवरण सार्वजनिक गरेको छ।
सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको जानकारीअनुसार एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ सवारीसाधन र प्रविधि सार्वजनिक गरिनेछ। प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड यातायात समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसँग सम्बन्धित अन्य उत्पादनहरू समावेश हुनेछन्।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले संस्था एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको र हाल ३६ सदस्य कम्पनीसम्म विस्तार भएको जानकारी दिइन्। उनका अनुसार यो विस्तारले अटोमोबाइल उद्योगले नाइमाप्रति देखाएको विश्वास, एकीकृत मञ्चको आवश्यकता तथा नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार संस्थाका रूपमा नाइमाको भूमिका थप सुदृढ भएको देखाउँछ।

उनले नाइमाको दृष्टि ‘मोबिलिटीमार्फत विकास सशक्तीकरण’ र लक्ष्य ‘सबैका लागि मोबिलिटी’ केवल एक्स्पोमा सीमित नभई पहुँच विस्तार, रोजगारी सिर्जना, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक वृद्धिसँग जोडिएको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन्। मोबिलिटीमा सुधार आए अवसर विस्तार हुने र आर्थिक गतिविधि थप गतिशील बन्ने उनको भनाइ थियो।
अध्यक्ष वैद्यले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्र सुधारका लागि निरन्तर नीतिगत पैरवी गर्नुका साथै पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक आयोजना गरेको, काठमाडौं उपत्यकाका एक हजार ६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिममा सहयोग गरेको तथा हालैका प्रदर्शनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको पुनर्निर्माणमा सहयोग गरेको जानकारी दिइन्। साथै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा विभिन्न कार्यशाला सञ्चालन गरिएको पनि उनले बताइन्।

उनका अनुसार नाइमाले नाइमा मोबिलिटी एक्स्पो र नाइमा मासिक मोबिलिटी संवाद लाई संस्थागत गरिसकेको छ भने नाइमा मोबिलिटी जर्नल तथा नाइमा क्षमता अभिवृद्धि तालिम शृङ्खला पनि सुरु गरिसकेको छ। एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप र तालिम कार्यक्रमका लागि छुट्याइने तथा ती अनुसन्धान नाइमा मोबिलिटी जर्नल मा प्रकाशित गरिने जानकारी पनि उनले दिइन्।
आगामी दिनमा नाइमा मोबिलिटी सम्मेलन आयोजना गर्ने, शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गरी मोबिलिटी क्षेत्रमा सीप विकास र रोजगारी सिर्जनामूलक तालिम सञ्चालन गर्ने योजना रहेको पनि अध्यक्ष वैद्यले बताइन्।
पत्रकार सम्मेलनमा सदस्य कम्पनी र उद्योग क्षेत्रबाट आएको मागलाई ध्यानमा राख्दै भविष्यमा व्यावसायिक सवारीसाधन केन्द्रित छुट्टै मोबिलिटी एक्स्पो आयोजना गर्ने विषयमा पनि नाइमा अध्ययन गरिरहेको जानकारी दिइयो। प्रदर्शनीस्थलको सीमितताका कारण केही इच्छुक सदस्यलाई स्टल उपलब्ध गराउन नसकिएको उल्लेख गर्दै अध्यक्ष वैद्यले नेपालमा ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधारको आवश्यकता औँल्याइन्।
नाइमा बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले लगानी, व्यवसाय विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्याउने बताए।
त्यस्तै, नाइमा अटो शो योजना समिति का संयोजक गौरव शारडाले गत वर्षको अनुभवलाई अझ परिस्कृत गर्दै यस वर्षको एक्स्पोलाई थप व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने जानकारी दिए। उनका अनुसार मनसुनलाई ध्यानमा राखी विशेष पूर्वाधार व्यवस्थापन गरिनेछ भने अपाङ्गता भएका व्यक्तिका लागि पनि सहज पहुँच सुनिश्चित गरिनेछ।
आगन्तुकहरूको सुविधाका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था हुनेछ। पठाओले यात्रा साझेदारका रूपमा छुटसहितको सेवा उपलब्ध गराउनेछ भने युनियन पेले क्यूआर भुक्तानी मार्फत टिकट खरिद गर्दा नगद फिर्ता (क्यासब्याक) सुविधा प्रदान गर्नेछ।
यस वर्षको एक्स्पोको अर्को विशेष आकर्षण नेपाल पुलिस क्लबस्थित ब्लु पेभिलियनको सभाहलमा सञ्चालन हुने निःशुल्क सिकाइ सत्र हुनेछ। ती सत्रहरूमा विज्ञ, शिक्षाविद्, उद्योग प्रतिनिधि तथा पेशाकर्मीले मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यबारे प्रस्तुति दिनेछन्।
एक्स्पोका सह-प्रायोजक ग्लोबल आईएमई बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नाइमासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै एक्स्पो अवधिभर विशेष बैंकिङ तथा सवारीसाधन कर्जा सुविधा उपलब्ध गराइने जानकारी दिए।
पत्रकार सम्मेलन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई प्रदर्शनीसँगै सिकाइको उत्कृष्ट थलो बनाउने उद्देश्य रहेको बताउँदै परिवार, विद्यार्थी, पेशाकर्मी, उद्यमी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी हुन आग्रह गरे।
