
काठमाडौं। सरकारले नेपाल सरकारको नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्की लाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारकर्मीलाई कार्कीलाई मुख्यसचिवमा नियुक्त गरिएको जानकारी दिए।
हालका मुख्यसचिव सुमनराज अर्याल अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो। अर्याल आगामी असार २६ गते देखि अनिवार्य अवकाशमा जानेछन्।
सरकारको निर्णयअनुसार कार्कीले अर्यालको अवकाशपछि मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछन्। मुख्यसचिवका रूपमा उनले संघीय निजामती प्रशासनको नेतृत्व गर्दै सरकारी प्रशासन सञ्चालन, मन्त्रालयहरूबीच समन्वय तथा मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनमा प्रमुख भूमिका निर्वाह गर्नेछन्।
