
काठमाडौं। सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले सन् २०१५ देखि २०२४ सम्म नेपाल–बेलायत आवतजावत गरेको अभिलेखको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ता पदमा डा. कँडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर भएका रिट निवेदनमाथि सुनुवाइ गर्दै बुधबार उक्त आदेश दिएको हो।
अदालतले नेपाल सरकारको विसं २०८२ चैत २२ गतेको महान्यायाधिवक्ता नियुक्तिसम्बन्धी निर्णयसहितको फाइल पेसीका दिन देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न तथा सन् २०१५ देखि २०२४ सम्म डा कँडेलको नेपाल–बेलायत आवतजावतको अभिलेख अध्यागमन विभागबाट प्रमाणित प्रतिलिपिसहित झिकाई नियमअनुसार पेस गर्न आदेश दिएको छ।
अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले छुट्टाछुट्टै रिट निवेदन दायर गर्दै डा कँडेलको महान्यायाधिवक्तामा भएको नियुक्ति बदर गर्न माग गरेका छन्। उक्त रिटमाथिको सुनुवाइ जारी छ।

