
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य पछिल्लो एक सातामा उल्लेख्य रूपमा घटेको छ। अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटको प्रभाव स्थानीय बजारमा पनि देखिँदा सुन प्रतितोला १८ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला ६ सय ४५ रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ४ गते प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १८ हजार ९ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा झरेको छ। मंगलबार २ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिनमा ५ हजार २ सय रुपैयाँले घटेको हो।
चाँदीको मूल्यमा पनि तीव्र गिरावट आएको छ। असार ४ गते प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। यसअनुसार एक साताको अवधिमा चाँदी प्रतितोला ६ सय ४५ रुपैयाँले घटेको छ। मंगलबारको ४ हजार ४ सय ८५ रुपैयाँको तुलनामा बुधबार मात्रै चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले सस्तिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य दबाबमा रहेको छ। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस करिब ३ हजार ९९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अमेरिकी डलर मजबुत बन्दै जानु र अमेरिकी फेडरल रिजर्भले ब्याजदर थप बढाउन सक्ने अपेक्षाका कारण सुनको मूल्य सात महिनायताकै न्यून स्तरमा झरेको विश्लेषण गरिएको छ।
चाँदीको अन्तर्राष्ट्रिय मूल्य पनि ओरालो लागिरहेको छ। बजारमा बहुमूल्य धातुमाथि बिक्री दबाब बढ्दा चाँदीको मूल्य पनि कमजोर बनेको देखाएको छ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको गिरावटकै प्रभाव नेपाली बजारमा परेको हो। पछिल्लो समय सुन तथा चाँदीको मूल्य निरन्तर घट्दा उपभोक्तालाई राहत पुगेको छ। विशेषगरी विवाह र तिजको किनमेल सिजन नजिकिँदै गर्दा मूल्यमा आएको कमीले बजारमा कारोबार बढ्न सक्ने अपेक्षा गरिएको छ।
