
काठमाडौं। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा हालसम्म छ हजार बचतकर्ताले आफ्नो बचत रकम फिर्ता गराइदिन माग गर्दै आवेदन दिएका छन्। ती बचतकर्ताले कुल रु पाँच अर्ब २७ करोड रकम फिर्ताका लागि निवेदन दर्ता गरेका हुन्।
सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार वैशाख १७ गतेदेखि हालसम्म दैनिक करिब ३० जनाका दरले उजुरी दर्ता भइरहेका छन्। अधिकांश निवेदक साना बचतकर्ता रहेका छन्, जसले रु एक लाखदेखि पाँच लाखसम्म बचत गरेका छन्।
महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाएको छ। केही दिनअघि बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमार्फत ३४ जना बचतकर्तालाई रु एक लाख ५० हजारसम्मको बचत रकम फिर्ता गरिएको विभागले जनाएको छ।
विभागका अनुसार आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्य राखिएको छ। ठूला बचतकर्ताको रकम फिर्ताका लागि भने ऋण असुली प्रक्रिया अघि बढाएर समन्वय भइरहेको छ।
हाल विभागले उजुरी दर्ता गर्ने, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने काम गरिरहेको छ। सहमति हुन नसके आवश्यक कारबाहीका लागि सिफारिस गरिने जनाएको छ।
काठमाडौँ महानगरपालिकामा हाल एक हजार ९१२ सहकारी दर्ता रहेका छन्। तीमध्ये करिब ५० प्रतिशत सहकारीले मात्र नियमित रूपमा वार्षिक साधारणसभा गरी प्रतिवेदन पेस गर्ने गरेका छन्। नियमित रूपमा साधारणसभा नगर्ने सहकारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।
