Nepal Purbadhar

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल शुरू


काठमाडौं। प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल शुरू भएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सांसदहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले हाल बजेटका सिद्धान्त र प्राथमिकतामाथि मात्रै सामान्य छलफल हुने तथा मन्त्रालयगत कार्यक्रम, योजना र बजेट विनियोजनका विषयमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा विस्तृत रूपमा समीक्षा गरिने जानकारी दिए। उनले बजेटमाथिको सामान्य छलफलका लागि चार घण्टाको समय निर्धारण गरिएको पनि बताए।

छलफलका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका विभिन्न पक्षबारे धारणा राखिरहेका छन्। छलफल सम्पन्न भएपछि उठेका प्रश्न र जिज्ञासाको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको छ।

बैठकमा सभामुख अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरूको कार्यभार थपसम्बन्धी जानकारी पनि सदनमा प्रस्तुत गरेका थिए।

त्यसैगरी, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन तथा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्य हेरफेर गरिएको जानकारी सभामुखले गराएका थिए। उक्त हेरफेरलाई प्रतिनिधिसभाले अनुमोदन गरेको छ।

बैठकमा सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ संविधानले तोकेको समयावधिभित्र राष्ट्रियसभाबाट फिर्ता नआएको विषय पनि सदनलाई जानकारी गराएका थिए।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई चालु अधिवेशनको महत्वपूर्ण संसदीय प्रक्रियाका रूपमा हेरिएको छ।


Read Previous

नापी सेवाको राजस्व अब ‘मेरो कित्ता’मार्फत तिर्नुपर्ने, राष्ट्र बैंकको नयाँ निर्देशन

Read Next

इप्पान महाधिवेशन: बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा, कुन पदमा को उमेद्वार?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar