Nepal Purbadhar

चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, ललितपुरलाई ‘उज्यालो महानगर’ बनाउने लक्ष्य


ललितपुर। ललितपुर महानगरपालिकाले महानगर क्षेत्रलाई ‘देशकै उज्यालो महानगर’ बनाउने दीर्घकालीन लक्ष्यसहित स्मार्ट स्ट्रिट लाइट विस्तार कार्यलाई तीव्रता दिएको छ। विशेषगरी चक्रपथ खण्डमा आधुनिक बत्ती जडानलाई प्राथमिकतामा राखिएको महानगरपालिकाले जनाएको छ।

सडकको सौन्दर्य अभिवृद्धि गर्नुका साथै रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ग्वार्को, सातदोबाटो, एकान्तकुना हुँदै कलङ्कीतर्फको चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको हो। दोस्रो चरणअन्तर्गत ललितपुर क्षेत्रभित्रको ७.९ किलोमिटर चक्रपथमा परियोजना विस्तार भइरहेको छ।

महानगरपालिकाका अनुसार परियोजनाका लागि कुल रु १३ करोड लगानी गरिएको छ, जसमा महानगरले रु १० करोड र नेपाल विद्युत् प्राधिकरण ले रु ३ करोड सहयोग गरेको छ।

नगरप्रमुख चिरिबाबु महर्जनका अनुसार चक्रपथ क्षेत्रमा आधुनिक बत्ती जडान भएपछि सडक रातभर उज्यालो रहने, यात्रु तथा सवारी चालकलाई सहज हुने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत ११ मिटरका ३७१ वटा पोल, ८ मिटरका १९५ वटा, ७ मिटरका २२४ वटा तथा १२ मिटर अग्ला ६६ वटा मिनीमास्ट जडान गरिनेछ। पहिलो चरणमा बालकुमारीदेखि सातदोबाटोसम्म बत्ती सञ्चालनमा ल्याइसकिएको र क्रमशः अन्य क्षेत्रमा विस्तार गरिने महानगरले जनाएको छ।

नगरप्रमुख महर्जनका अनुसार आगामी तीन महिनाभित्र अधिकांश क्षेत्रमा बत्ती सञ्चालनमा आउनेछ। स्मार्ट स्ट्रिट लाइट परियोजनाले ललितपुरलाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


Read Previous

श्रीलंकामा डेंगी सङ्क्रमणमा वृद्धि, नियन्त्रणका लागि सेना परिचालन

Read Next

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, स्थानीय उत्पादनको व्यापारमा वृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar