Nepal Purbadhar

ट्र्याक खुलेको १८ वर्षपछि स्तरोन्नति भयो दरवाङ-फूलबारी सडक


म्याग्दी। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्ड १८ वर्षपछि स्तरोन्नति गरिएको छ। २०६६ सालमा ट्र्याक खुलेको यस सडकलाई हालसम्म सामान्य मर्मतका आधारमा सञ्चालन गरिँदै आएको थियो।

मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश समपूरक कार्यक्रमअन्तर्गत रु एक करोड बजेट विनियोजन गरेर सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको थियो। निर्माणको जिम्मा पाएको मङ्गला कन्ट्रक्सन बाबियाचौरले रु ६५ लाख २३ हजारमा ठेक्का सम्झौता गरी निर्धारित समयभन्दा १५ दिनअघि नै काम सम्पन्न गरेको जनाएको छ।

सडकको चौडाइ तीन दशमलव पाँचदेखि चार मिटरबाट बढाएर कम्तीमा छ मिटर पुर्‍याइएको छ। स्तरोन्नतिअन्तर्गत करिब ५०० मिटर क्षेत्रमा नाली निर्माण, ग्रेड सुधार, घुम्ती व्यवस्थापन, ग्याबियन तथा पलम पर्खाल निर्माण र एक स्थानमा कजवे निर्माण गरिएको छ।

गाउँपालिकाका अनुसार आयोजनाअन्तर्गत ११ हजार घनमिटर भित्ता कटान, ४४५ घनमिटर ग्याबियन पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान तथा २७ घनमिटर पलम पर्खाल निर्माण गरिएको छ। हाल प्राविधिक टोलीबाट नापजाँच र मूल्याङ्कनको काम भइरहेको छ।

यसअघि थापाचौरदेखि देविस्थान जाने घुम्तीसम्मको सडक खण्ड स्तरोन्नति गरिएको थियो। मालिका गाउँपालिका–२, ३ र ४ नम्बर वडाका बासिन्दासँगै बागलुङको तमानखोला गाउँपालिकाका नागरिकले प्रयोग गर्ने यो सडक गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त योजनामध्ये एक रहेको जनाइएको छ।


Read Previous

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी, दुईपाङ्ग्रे निषेध, शुल्क कति?

Read Next

कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar