Nepal Purbadhar

विद्युतीय कुकरबाट पकाउँदा ६ रुपैयाँ मात्र


काठमाडाैं । विद्यु्तीय प्रेसर कुकर (इपीसी) मा खाना पकाउँदा ६ रुपैयाँ २७ पैसा मात्र खर्च लाग्ने एक अध्ययनले देखाएको छ । यो पाँच जनाको परिवारको लागि विद्युतमार्फत एक छाक खाना पकाउँदा लाग्ने खर्च हो । जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा) ले गरेको अध्ययनअनुसार मासुबाहेक भात र दाल पकाउनका लागि ४ रुपैयाँ २० पैसा मात्र पुग्नेछ ।

अध्ययनले मासुसहित एलपीजी ग्याँसबाट पकाउँदा १३ रुपैयाँ ७८ पैसा लाग्ने र इन्डक्सनबाट पकाउँदा ११ रुपैयाँ ७७ पैसा खर्च हुने अध्ययनले देखाएको पीडाका कार्यकारी निर्देशक विराज गौतमले जानकारी दिए । उनका अनुसार, सोलुखुम्बु, ललितपुरको महाकाल गाउँपालिका तथा काभ्रेको बनेपा नगरपालिकामा इपीसी वितरण गरी यसको अध्ययन गरिएको थियो ।

‘अध्ययनले खाना पकाउनका लागि राम्रो विकल्पको रुपमा इपीसी देखिएको छ ।’-उनले भने-‘स्वच्छ ऊर्जाको प्रवद्र्धनका लागि विद्युतीय चुल्होको प्रवद्र्धन गर्नु आवश्यक छ ।’बिजुलीको मुल्य प्रति युनिट १० रुपैयाँ, दाउराको प्रति केजी ६.३० र ग्याँसको प्रति सिलिण्डर १ हजार ४४० रुपैयाँको आधारमा खाना पकाउन लाग्ने खर्च निकालिएको पीडाले जनाएको छ । हाल प्रति सिलिण्डर ग्याँसको १ हजार ५७५ रुपैयाँ पुगिसकेकोले यसको लागत अझै बढ्नेछ ।

भान्सा विद्युतीय बनाउँदा भान्साको काममा पुरुष सदस्यको समेत योगदान बढेको पाइएको छ । कहिल्यै भान्साका काम नगर्ने घरका पुरुषहरूले अध्ययन अवधिभर १० प्रतिशत भान्सा सम्हालेको पाइएको अध्ययनमा सहभागी अर्को संस्था विन रक इन्टरनेसनलका गोविन्द खनालले जानकारी दिए ।

पीडासहित आधुनिक ऊर्जा कुकिङ कार्यक्रम (एमईसीएस), विन रक, प्राक्टिकल एक्सनले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा विनरकका प्रतिनिधी गोविन्द खनालले इपीसीको कार्यान्वयनपछि भान्सामा पुरुषको सक्रियता वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कणर्ले सरकारले विद्युतीय चुल्हो प्रवर्द्धन विशेष महत्व दिएको बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले स्वच्छ विद्युत खपत वृद्धिका लागि राष्ट्रिय एकीकृत योजना बनाउन लागिएको जानकारी दिए ।

नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ले सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो पुर्याउने तथा २०४५ सालसम्ममा शुन्य कार्बन उत्र्सजन गर्ने लक्ष्य राखेको छ ।

खाना पकाउँदा लाग्ने खर्च

उपकरणमासुबाहेक (रुपैयाँमा)मासुसहित (रुपैयाँमा)
एलपीजी९.४३१३.७८
इन्फ्रारेड९.०७१२.६०
इन्डक्सन८.४०११.७७
दाउरा७.८५१३.२९
इपीसी४.२०६.२७

स्रोतःपीडा


Read Previous

काठमाण्डु टु नागढुङ्गा

Read Next

१२ हजारले चुमे सगरमाथा, सबैभन्दा धेरै अमेरिकी नागरिक