Nepal Purbadhar

खेलकुद पूर्वाधार: १० आधुनिक फुटबल र ८ क्रिकेट रङ्गशाला निर्माण, ४ अर्ब ३ करोड बजेट


काठमाडौं — सरकारले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विस्तार र प्रतिभा विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै देशभर ठूला खेल संरचना निर्माण गर्ने भएको छ। यसका लागि कुल रु ४ अर्ब ३ करोड विनियोजन गरिएको छ।

सरकारी योजनाअनुसार आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशाला फ्लड लाइटसहित स्तरोन्नति गरिनेछ। साथै प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने लक्ष्य लिइएको छ।

त्यस्तै विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने योजना पनि अघि सारिएको छ।

मूलपानी क्रिकेट रङ्गशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने सरकारको योजना छ।

सरकारले खेलकुद प्रतिभा विकासका लागि विद्यालय तहदेखि नै छनोट गरी आवासीय तालिम दिने व्यवस्था मिलाउने भएको छ। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचार सुविधा दिने घोषणा पनि गरिएको छ।

यसैगरी सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद र मधेश प्रदेशमा प्रस्तावित एघारौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरिएको छ।


Read Previous

सिँचाइ पूर्वाधार: १५ हजार ८०० हेक्टरमा नयाँ सिँचाइ, ठूला डाइभर्सन तीव्र, करिब २२ अर्ब बजेट

Read Next

शिक्षा क्षेत्रमा २१८ अर्ब, स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेट, गुणस्तरीय सेवा विस्तारमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar