Nepal Purbadhar

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै


काठमाडौँ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।

बाढीबाट १२ वटा जलविद्युत् आयोजनाहरुमा क्षति पुगी ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरेका हुन् ।

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर प्रभावित क्षेत्रमा आज पाँच सय सोलार पावर बैंक पठाउने तयारी गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदलाई पाँच सय सय सोलार पावर बैंक हस्तान्तरण गर्दैछ ।

ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले भने, ‘रसुवामा हाम्रो सवस्टेसन उडेकाले तत्कालै विद्युत सुचारु गर्न सकिने अवस्था छैन । त्यसैले वैकल्पिकरुपमा वत्ती बाल्न मिल्ने र मोबाइल चार्ज मिल्ने गरी सोलार पावर बैंक विपद् राष्ट्रिय परिषदमा पठाउँदैछौं । परिषदमार्फत प्रभावित क्षेत्रमा पठाउने तयारी छ,’ उनले भने ।

मन्त्रालयकाअनुसार त्रिशुली स्थित २२० के.भी. ३ बि हब सवस्टेशनव पूर्णरुपमा क्षति पुगेको छ भने ६ वटा प्रसारण लाइन अवरुद्ध छ ।

जलविद्युत आयोजना र प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जामन्त्री श्रेष्ठले आपूर्ति प्रणालीमा परेको चापको पनि जानकारी लिँदैछन् । यसका लागि आज मन्त्री श्रेष्ठले स्युचारटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर – एलडिसी) को निरीक्षण गर्दैछन् । ‘बाढीपछिको विद्युत आपूर्तिको अवस्था के छ, बाढीले समग्र देशको वत्तीमा कहाँ कहाँ असर पर्यो, कहाँ के अवस्था छ भनेर जानकारी लिन मन्त्रीज्यू आज स्चयुटाचारस्थित एलडिसी जाँदै हुनुहुन्छ,’ महर्जनले भने ।

यसबाहेक ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सवस्टेशन र सञ्चालनको प्रयास गरिरहेको छ । गुजुरीदेख गल्छीसम्मका क्षेत्रहरुमा धादिङ्गबेसी सवस्टेशनमार्फत विद्युत आपूर्ति सुचारु गर्ने प्रयास भैरहेको छ । सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ्ग गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भैरहेको छ । अवरुद्ध भएको विद्युतका कारण प्रणालीलाई सुचारु राख्न विद्युत प्रणाली सञ्चालन विभागलाई निर्देशन गरिएको छ ।

यसैगरी आवश्यक परेमा भिमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ ।


Read Previous

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Read Next

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar