Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सडक किनारका भौतिक संरचना भत्काउँदै वीरगञ्ज महागरपालिका   


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई  निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो ।

महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सो अभियानलाई निरन्तरता दिएको हो । अभियानकै क्रममा सोमबार साँझ महानगरपालिकाले वडा नं २९ बसडिल्वाका घरटहरा हटाइएको छ ।

महानगरपालिकाको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म करिब ७.५ किलोमिटर पक्की सडक निर्माणाधीन छ । सडक क्षेत्रमा परेको भौतिक संरचना हटाउन पटकपटक सूचना दिए पनि लामो समयसम्म नहटाएपछि महानगरपालिकाले टहरा हटाएको हो ।

यसअघि हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित प्रतिमा चोकमा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको थियो । केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएका कारण हुलाकी सडक निर्माण अवरुद्ध भएपछि ती संरचना भत्काइएका थिए ।

प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब एक सय ५० मिटर लामो सडकखण्ड निर्माणको ठेक्का अभि कन्सट्रक्सनले पाएको छ । उक्त खण्ड ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रमा निर्माणाधीन भौतिक संरचना हटाउने अभियानलाई निरन्तरता दिएको महानगरले अभियानकै क्रममा हालसम्म महानगर क्षेत्रभित्रका २८ वटा सार्वजनिक पोखरी तथा एक सय ४८ बिघाभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा ल्याएको वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए ।

अभियानका क्रममा वडा नं १७ मा आठ, वडा नं २६ मा चार, वडा नं १८ मा २०, २४ मा २८, २९ र ३० नं वडामा दुई–दुईवटा र वडा नं १९ र २३ मा एक–एकवटा सार्वजनिक पोखरी महानगरपालिकाको नाममा लगत कायम गरिएको महानगरपालिकाले जनाएको छ । सार्वजनिक पोखरी रहेको १९ बिघा सात कठ्ठा जग्गा पहिचान गरी महानगरपालिकाको अधिनमा ल्याइएको सल्लाहकार पोखरेलले बताए ।

महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायत क्षेत्र अतिक्रमण गरी स्थानीयले भौतिक संरचना निर्माणका साथै त्यसालई खेतबारीका रुपमा उपभोग गर्दै आएका छन् ।

महानगरको विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीका रूपमा उपभोग गर्ने, सार्वजनिक पोखरी व्यक्तिगत रूपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्ने अभियान जारी राखेको छ । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली पनि परिचालन गरेको छ ।

“महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्”, वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले भने , “पहिलो चरणमा प्राविधिक टोलीले सार्वजनिक जग्गा खोज्ने र त्यसपछि पहिचान भएको जग्गा खाली गराएर आफ्नो स्वामित्वमा ल्याउने काम जारी राखेका छौँ, यसैक्रममा वर्षाैंदेखि स्थानीयले उपभोग गर्दै आएको सार्वजनिक पोखरीलाई फिर्ता ल्याउन सफल भएका छौँ ।”

महानगरले वडा नं ३० बेलबामा स्थानीय केहीले अतिक्रमण गरेर उपभोग गर्दै आएको ३२ बिघा जग्गा आफ्नो स्वामित्वमा ल्याएर सामूहिक कृषिखेतीका लागि प्रयास गरिरहेको छ । वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीयले अतिक्रमण गरी उपभोग गर्दै आएको १० बिघा १८ कठ्ठा जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएइको पोखरेलले जानकारी दिए ।

यस्तै, वडा नं १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघा र वडा नं १७ अलौं मन्सी टोलमा सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएको संरचना भत्काएर १३ कठ्ठा ८ धुर जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको उनले बताए । उनका अनुसार वडा नं ३० लालपर्सामा विपश्यनाको पश्चिमतर्फको १ बिघा एक कठ्ठा र वडा नं १६ इनर्वामा अध्यागमन कार्यालयसँगै जोडिएको १९ कठ्ठा जग्गा अतिक्रमण हटाएर महानगरपालिकाको स्वामित्वमा ल्याइएको फुयालले जानकारी दिए ।

त्यस्तै, महानगरपालिका वडा नं २७ मा रामजानकी मन्दिरका नाममा रहेको दुई बिघा १३ कठ्ठा आठ धुर र वडा नं २२ मनियारीमा आठ कठ्ठा जग्गा महानगरको अधिनमा नक्साङ्कन गरिएको छ । वडा नं ३१ बेलबामा स्वास्थ्यचौकी नजिकै अतिक्रमण गरी बनाइएको संरचना हटाई चार कठ्ठा बढी जग्गा, ड्राइपोर्ट अगाडि मूल सडकसँग जोडिएको अतिक्रमित १० कठ्ठा र सोही सडकअन्तर्गत हुलाकी सडकमा पर्ने सिर्सियाखोला पुल नजिकैबाट दुई कठ्ठा चार धुर जग्गा महानगरले अधिनमा ल्याएको फुयालले बताए ।

त्यसैगरी, वडा नं ८ स्थित प्रभु अस्पताल नजिकै पर्ने १० धुर जग्गा खाली गराई महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ भने वडा नं १० स्थित घअिर्वा पोखरीको दक्षिण गेट अगाडिको रामजानकी मन्दिरको अतिक्रमण हटाई भक्तजनका लागि मन्दिर खुला गरिएको छ । सार्वजनिक जग्गा खोज्ने क्रममा गुठी संस्थानको नाममा रहेको ८० बिघा जग्गासमेत छुट्याइएको महानगरपालिकाले जनाएको छ ।

केही दिनअघि वीरगञ्ज महानगरपालिकाले आर्दशनगरस्थित ‘चिल्ड्रेन पार्क’को जग्गामा स्थानीयले निर्माण गरेका संरचना हटाएको थियो ।


Read Previous

ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र अलोइबीच समझदारी

Read Next

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु: मन्त्री भण्डारी   

Leave a Reply

Your email address will not be published.