Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

कुडुँले-मालिका-पञ्चकोट सडककाे कालाेपत्र गरेर स्तरोन्नति


बागलुङ । बागलुङमा स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडकमा ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो ।

२ वर्षभित्रै स्तरोन्नति तथा कालोपत्र सक्नेगरी २०७६ असोज २८ गते सम्झौता भएको सडक अहिले कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्नेगरी कुडुँले चोकदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलापमिटरमा कालोपत्रको काम थालिएको जनाइएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको बागलुङ–५ का पूर्वजनप्रतिनिधि शिव सापकोटाले बताए । ३ पटकसम्म सम्झौता मिति थपिएको उनकाे भनाइ छ ।

अलपत्र परेको सडक कालोपत्र गर्न थालेपछि यहाँका स्थानीय खुसी भएकाे सापकोटाले बताए । पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बन्न थालेपछि स्थानीय आक्रोशित भएकामा अहिले कामले निरन्तरता पाएसँगै खुसी भएका छन् ।

सडक कालोपत्र भएपछि पञ्चकोट जाने तीर्थालुलाईसमेत सहज हुने स्थानीय बताउँछन् । ४ वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि माघदेखि काममा फर्केको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउँदा पनि काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच काम गर्ने प्रतिबद्धता जनाएलगत्तै स्तरोन्नतिले लिएको हो ।

“गत पुस ३ गतेको सहमति लगत्तै कामले गति लिएको छ । यसअघि उक्त सडकको पाङ्ग्रेखोलामा एक सय मिटर सडक ढलान गरिएको थियो । ग्राभेल सकेर निर्माण व्यवसायीले मालिकाबाट कालोपत्र गर्न थालेको छ”, घिमिरेले भने, “सम्झौताअनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ । यो निर्माण व्यवसायका लागि अन्तिम मौका हो ।”

तीन पटकसम्म म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेसँगै एक वर्षपछि काममा फर्केको थियोे । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३१ करोड रुपैयाँ लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको उनले बताए ।

करिब ७६ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रको मात्रै काम बाँकी रहेकाले चैत मसान्तभित्रै काम सकिने निर्माण कम्पनीका स्थलगत प्रमुख रवीन चापागाईंले बताए । कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि बजेट विनयोजन भएको थियो ।

प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई स्तरोन्नति गर्न थालिएको बताइएको छ ।


Read Previous

अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो   

Read Next

मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

Leave a Reply

Your email address will not be published.