Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

दिगो विकाससम्बन्धी ११औं एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित   


काठमाडौं । दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । थाइल्याण्डकाे बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा मंगलबारदेखि आयोजना भएको मञ्चको बैठकबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् ।

मित्रराष्ट्र जापानले उपाध्यक्ष श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो । उनलाई बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिले समर्थन गरेका थिए । उपाध्यक्ष श्रेष्ठले मञ्चको अध्यक्ष निर्वाचित भएपश्चात् कार्यक्रममा उपस्थित सबै सदस्य राष्ट्रका प्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेकाे आयोगले जनाएको छ ।

मञ्चमा अन्तर्राष्ट्रिय साझा एजेण्डाका रुपमा रहेका दिगो विकास लक्ष्यमा यस क्षेत्रका राष्ट्रले गरेको प्रगतिको समीक्षा गरिनुका साथै आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल हुँदैछ । ४ दिनसम्म चल्ने छलफल दिगो विकास लक्ष्य १, २, १३, १६ र १७ मा केन्द्रित रहने आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए  ।

छलफलमा भएको सहमतिका आधारमा एसिया प्रशान्त क्षेत्रमा दिगो विकास लक्ष्य कार्यान्वनमा प्राप्त भएको सफलता र चुनौतीका सन्दर्भमा सन् २०२४ को जुलाईमा हुने संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय राजनीतिक मञ्चमा प्रतिवेदन पेस हुनेछ ।

एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक परिषद्मा ५३ सदस्य राष्ट्र तथा नौ वटा अन्य संस्था आबद्ध छन् । मञ्चमा हुने छलफलमा सदस्य राष्ट्रहरुका सरकारका प्रतिनिधिका अतिरिक्त नागरिक समाज, निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, युवा, बालबालिका, किसानलगायत बहुसरोकारवालाको सहभागिता रहेको छ ।


Read Previous

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु   

Read Next

एमसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित   

Leave a Reply

Your email address will not be published.