Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

बेनी-दरवाङ-ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाइने 


म्याग्दी । म्याग्दी–बागलुङ–पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाइने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले याे सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिनिधिसभाको आइतबारकाे बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको बताए ।

“बेनी–दरवाङ–ढोरपाटन सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रक्रिया अघि बढेको छ,” उनले भने, “साथै म्याग्दीलगायत हिमाली जिल्लाले राज्यबाट विशेष सहुलियत पाउनुपर्छ भन्नेमा सरकार सकारात्मक रहेको जानकारी गराउँदछु ।”

सांसद गर्बुजाले २०७६ सालमा म्याग्दीलाई नेपालको २१औं हिमाली जिल्लामा सूचीकृत गरे पनि स्थानीय तहले पाउने बजेट, यहाँका नागरिक र कर्मचारी, सेना, प्रहरीले सुविधा पाउन नसकेको, मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–ढोरपाटन सडक ओझेलमा परेको र सेवानिवृत्त ब्रिटिस गोर्खा सैनिकको समस्यामा विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

भौगोलिक रुपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीन रुपमा राष्ट्रिय महत्त्व राख्ने बेनी–दरवाङ–ढोरपाटन सडकको म्याग्दीतर्फ थप १९ किलोमिटर मार्ग खोल्न बाँकी छ । काठमाडौं र पोखरादेखि बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने यो छोटो दूरीको सडक भएको सांसद गर्बुजाले बताए ।

बेनीदेखि मुना हुँदै खोरीयासम्म ५० किलोमिटर सडकको मार्ग खुलिसकेको र ढोरपाटनदेखि जलजलासम्म पनि १० किलोमिटर कच्ची सडक बनेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

“बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिन्छ,” उनले भने, “पूर्वी रुकुमको टकसेरादेखि ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ ।”

१९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएर प्रदेश र सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरिएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

म्याग्दीका सरोकारवालाले खोरिया पुगेको सडकलाई ढोरपाटन हुँदै पूर्वी रुकुम जोडेर मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रुपमा यो सडकलाई प्रयोगमा ल्याउन लुम्बिनी प्रदेश र पूर्वी रुकुमका जनप्रतिनिधिसँग छलफल र पहल थालेका छन् ।

गण्डकी प्रदेश सरकारले बेनी–दरबाङ–धारापानी–ताकम–मुनासम्मको सडक कालोपत्र गर्ने र मुनादेखि जलजला हुँदै ढोरपाटनलाई सडकले जोड्ने योजनालाई प्राथमिकता दिएर सङ्घीय सरकारलाई सिफारिस गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए । सडक यातायातसँगै पर्यटन विकासका हिसाबले पनि यो मार्गको आवश्यकता देखिएको उनकाे  भनाइ छ ।

“म्याग्दी हुँदै ढोरपाटन पुगेर बुर्तिबाङ हँुदै लुम्बीनी र पोखरा पुग्ने पर्यटन मार्ग पनि बन्ने भएकाले यो सडकलाई प्रदेशको महत्त्वपूर्ण योजनामा समेटेका छौँ,” उनले भने, “बेनीदेखि दरवाङ हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडक कालोपत्र गर्ने योजना अघि बढेको छ । ढोरपाटनलाई सडकले जोड्ने योजनाका लागि सङ्घीय सरकारलाई प्रस्ताव गरेका छाैं ।”

प्रदेश सरकारमार्फत बेनीदेखि मङ्गला गाउँपालिका–२ सिमसम्म १२ किलोमिटर सडक कालोपत्र भइसकेको छ । सिमदेखि लाम्पाटा–४ किलोमिटर र लाम्पाटादेखि दरवाङको आठ किलोमिटर सडक कालोपत्र गर्न सञ्चालित योजना निर्माणले तीव्रता पाएको छ । दरवाङदेखि धारापानीसम्म सात किलोमिटर सडक ग्राभेल भएको छ ।

दरवाङ–मुना जोड्ने १८ किलोमिटर सडक कालोपत्र गर्न एक अर्ब ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धवलागिरि गाउँपालिकाले जनाएको छ ।  २०६४ मा मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक २०७४ देखि स्तरोन्नतिको काम थालिएको थियो ।

पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिएको यो सडक खण्डलाई अहिले चासोका साथ हेरिएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन तथा योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।


Read Previous

सगरमाथा क्षेत्रमा पर्यटक आगमन बढ्न थाल्याे, लुक्लाकाे हवाई सेवामा चाप    

Read Next

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण   

Leave a Reply

Your email address will not be published.