Nepal Purbadhar

निर्माण नसकिँदै पक्की पुल दोस्रो पटक भत्किन थाल्यो


कटारी (उदयपुर) । कटारी नगरपालिका-३ हडैयास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको हडैया खोलामा निर्माणाधीन पक्की पुल दोस्रो पटक भत्कन सुरु भएको छ ।

हडैया खोलामा निर्माण भइरहेको करिब ६० मिटर लामो उक्त पुलको पश्चिमतर्फ ‘जोइन्ट’बाट पुल भत्किन थालेको स्थानीय मानबहादुर तामाङले बताए । यो पुल निर्माण सुरु भएको आठ वर्ष हुन लाग्यो । यसअघि २०७५ सालमा यो पुलको दुई स्ल्याबमध्ये एउटा भत्किएको थियो ।

सडक डिभिजन कार्यालय सिरहा, लहानका इञ्जिनियर सञ्जीव दासले राम्रो जडान नहुँदा चर्किएर भत्किन थालेको बताए । स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण पटक-पटक भत्कन थालेको आरोप लगाएका छन् ।

विसं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण सुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । निर्माण नसकिएपछि पटक–पटक म्याद थपिए पनि अझै पुल निर्माण सकिएको छैन ।

सडक विभागको आठ करोड ७९ लाख २८ हजार रूपैयाँको लागतमा उक्त पुल निर्माण सुरु भएको थियो । ‘निर्माणाधिन पुल भत्किएर जोखिम बढेको छ’, स्थानीय प्रकाश पाख्रिनले भने, ‘सुरुदेखि नै गुणस्तरहीन काम भयो हामीले जति गुनासो गरे पनि सुनुवाइ भएन् ।’

इन्जिनियर दासका अनुसार पुल निर्माण अब आठ प्रतिशत मात्रै बाँकी छ भने ठेकेदार कम्पनीले भक्तानी लिन २० प्रतिशत बाँकी छ । पुल लामो समय अलपत्र पारेको, निर्माण नसकिँदै भत्किएको तथा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले ठेक्का तोड्नुपर्ने माग राखेका छन् ।


Read Previous

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

Read Next

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar