Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

लक्ष्मी पूजाको दिन विद्युत्को उच्च माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारतर्फ निर्यात


काठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गतवर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मी पूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गतवर्ष लक्ष्मी पूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ । गतवर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो ।

यस वर्ष लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ । गतवर्ष ३४२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिनविद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए ।

कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए । उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे ।

जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन क्षमता भएता पनि प्राधिकरकणले पिक समयमा १६ मेगावाटमा मात्र चलाएको थियो ।

प्राधिकरणका स्वामित्वका अन्य विद्युत्गृहहरुबाट ४२० मेगावाट, माथिल्लो तामाकोशी, चिलिमेलगायतका प्राधिकरणका सहायक कम्पनीका स्वामित्वमा रहेका विद्युत्गृहहरुबाट ५२२ मेगावाट, निजी क्षेत्रका विद्युतगृहहरुबाट ९९७ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको थियो । विगत वर्षमा झै यस वर्ष लक्ष्मी पूजाका दिन मुलकभर विना अवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । २०७३ को लक्ष्मी पूजाकै दिनबाट देशलाई लोडसेडिङमुक्त घोषणा गर्ने अभियान सुरु गरिएको थियो । अहिले मुलुक लोडसेडिङबाट मुक्त मात्र छैन देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात भइरहेको छ ।

प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।


Read Previous

बजेटका ३५ प्रतिशत घोषणामा ‘शून्य’ प्रगति

Read Next

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

Leave a Reply

Your email address will not be published.