Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

पोखरामा विद्युतीय तार भूमिगत गर्ने कार्य २५ प्रतिशत सकियाे


पाेखरा।  पोखरामा ढिलो गरी सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कामले अहिले गति लिएको छ । भदाैसम्ममा ५ प्रतिशत मात्रै भाैतिक प्रगति रहेकाेमा अहिले निर्माणले गति लिएकाे हाे ।

बैशाखदेखि पूर्वाधार निर्माण थालिएकामा हालसम्म २५ प्रतिशत काम सम्पन्न भएकाे नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनीयर आनन्द सुवेदीले बताए । “भदौसम्ममा आयोजनाको भौतिक प्रगति खासै हुन सकेकाे थिएन, अहिले जनशक्ति थपेर निर्माण तीव्र पारेपछि प्रगति बढेकाे छ, ” उनले भने ।

उनले पछिल्लो समय कामले गति लिएकाले तिहारपछि उपकरण थपेर अझै तीव्र पार्ने जानकारी दिए । उनका अनुसार पूर्वयोजना र डिजाइन परिमार्जन गर्नुपर्दा कामले गति पाउन बढी समय लागेकाे थियाे ।

पोखराको चट्टानी जमिनका कारण आयोजनासँग पहिले भएको सुरुङ खन्ने उपकरणले काम नगरेपछि उच्च क्षमताको नयाँ उपकरण ल्याउनुपरेको उनले बताए । अहिले आयोजनासँग सुरुङ खन्ने दुई उपकरण रहेको र तिहारपछि थप एउटा उपकरण ल्याइने प्रमुख इञ्जिनीयर सुवेदीले बताए ।

पोखरा महानगरपालिका–१० कुँडहरचोकदेखि बुद्धचोकसम्म र लेकसाइडको गल्ली नं १५, १६ र १७ मा पाइप विछ्याउने काम भइसकेको पनि उनले बताए ।  “तिहारलगत्तै तार विछ्याउने काम सुरु हुन्छ, पोखराको मुख्य सहरी क्षेत्र छिट्टै तारमुक्त बन्दैछ”, उनले भने, “निर्धारित समयभन्दा केही पछाडि धकेलिए पनि अब काममा ढिलाइ हुँदैन, निर्माण कम्पनी पनि यसमा प्रतिबद्ध छ ।”

दुई वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । ठेक्का सम्झौता भएको १५ महिनापछि बल्ल आयोजनाको काम सुरु भएको थियो । इञ्जिनीयरिङ डिजाइन, उपकरण खरिदलगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको जनाइएको छ ।

आयोजनालाई चाहिने तारसहित महत्त्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । पोखरा–मुग्लिन सडक आयोजनाले अनुमति नदिएका कारण पनि केही समय मुख्य राजमार्ग क्षेत्रमा तार भूमिगत गर्न समस्या भएको थियो ।

सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सबस्टेशन क्षेत्रबाट तार विछ्याइने निर्माण कम्पनीका इञ्जिनीयर सुधीर पाण्डेले बताए ।  उनका अनुसार ३० भन्दाबढी मजदुर अहिले सुरुङ निर्माण र पाइप विछ्याउने काममा खटिएका छन् ।

आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इञ्जिनीयर पाण्डेले बताए । आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेश मार्गदेखि कुँडहरचोक, अमरसिँहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गागायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो ।

मुख्यदेखि सहायक सडकसम्मै तार विछ्याइने आयोजनाले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि विछ्याइनेछ । “विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गरिन्छ, अहिले भएको ओभरहेड प्रणालीका सबै तार हट्छन्”, आयोजना प्रमुख सुवेदीले भने, “पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि विछ्याउन लागिएको हो ।”

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा सहरभरिको तारलाई भूमिगत गर्न पाँच अर्ब रुपैयाँ बढी बजेट चाहिने बताए । पोखरा र भरतपुरमा तार विछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो ।

दुवै सहरमा एकै प्याकेजमा काम भइरहेको हो । तार विछ्य्याएपछि ग्राहकको घर–घरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार विछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने सुवेदीले बताए ।

यात्रु र यातायातका साधनको आउजाउमा बाधा नपुग्ने गरी निर्माणका काम भइरहेको उनकाे भनाइ छ । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पोखरा वितरण केन्द्रका अनुसार तार भूमिगत आयोजनाले ओगटेको क्षेत्रभन्दा बाहिरका अव्यवस्थित र जीर्ण विद्युत् पोल हटाउन छुट्टै ठेक्का प्रक्रिया अगाडि बढाएको छ । विद्युत् लाइन जमिनमुनि विछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ ।

तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने प्राविधिक बताउँछन् । तार, विछ्याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने उनीहरुको भनाइ छ । पोखरा वितरण केन्द्रअन्तर्गत विद्युत्का ९४ हजार एक सय ६५ ग्राहक छन् ।

वितरण केन्द्रका आधारमा यो देशकै सबैभन्दा धेरै ग्राहक सङ्ख्या हो । प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाइरहेको छ ।

सडक छेउछाउका जीर्ण र प्रयोगविहीन पोल हटाउन सुरु गरिएको छ । भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ । काठमाडौं उपत्यकापछि भरतपुर र पोखरामा सो परियोजना अघि बढेको हो ।

तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि आयोजना सहयोगी बन्ने ठानिएको छ । प्रभाव र उपयोगिता हेरेर पोखराका अन्य ठाउँमा पनि तार भूमिगत गरिने प्राधिकरणले जनाएको छ ।


Read Previous

आईसीटीको इकोसिस्टम विकास गर्न क्यान महासंघ र यूएसएडबीच सहकार्यको घोषणा

Read Next

२ वर्षमा सकिने पुलकाे ३ वर्षमा आधा मात्रै काम   

Leave a Reply

Your email address will not be published.