Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

आठ वर्षदेखि सडक निर्माण अलपत्र


गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो । निर्माण व्यवसायीले उक्त सडकको काम गर्ने भनी सात पटकसम्म म्याद थप गर्दा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको पुर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । यसअघि सडक डिभिजन कार्यालय पाल्पा, तम्घास सिमलटारी प्यूठान, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तुले उक्त सडक निर्माणको काम गर्दै आएको थियो ।

सडकको सुरुको खण्डअन्तर्गत तम्घास–खाम्सेपानीदेखि सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन बाँकी रहेको सडक पुर्वाधार विकास कार्यालयका प्रमुख सचित्तानन्द चौधरीले जानकारी दिए । निर्माण व्यवसायीले पटकपटक म्याद थप गर्ने तर काम नगर्ने गरेकाले सडक निर्माण अलपत्र परेको उनले बताए । सडक निर्माणको जिम्मा पाएको लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले अन्तिम पटक भन्दै वि. सं. २०८० असारसम्मको म्याद थप गरेको थियो । म्याद थप गरेपनि अहिलेसम्म बाँकी सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन । विसं २०७१ असार ३१ गते सम्झौता भई विसं २०७२ चैत्र ३० गते सम्पन्न गर्ने गरी सात करोड १९ लाख ८७ हजार रुपैयाँमा सम्झौता भएको थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा यहाँका नागरिकले समस्या खेप्दै आइरहेका छन । रेसुङ्गा नगरपालिकासँग जोडिएको मुख्य नाकाको सडक वर्षौँदेखि अलपत्र हुँदा नगरपालिकाले गम्भीररुपमा ध्यानाकर्षण भएको जनाएको छ । सडक निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि चासो नदेखाएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । कामको जिम्मा लिएर समयमा सम्पन्न नगर्ने, काम अलपत्र पारेर नागरिकलाई सास्ती दिने व्यवसायीलाई सम्बन्धित कार्यालयले कालोसूचिमा राखेर कारबाही प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाइ थियो ।

सडक कालोपत्रे नहुँदा महँगो भाडा तिरेर सदरमुकामसम्म आउजाउ गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ थियो । “कालोपत्रेका लागि नाली र ग्राभेलको काम सम्पन्न भैसकेको थियो । लामो समयसम्म काम नहुँदा सडकको ग्राभेल पानीले बगाएर खाल्डा परिसकेको छ”, प्रमुख चौधरीले भने । उनका अनुसार वर्षामा हिलो र हिउँदमा धुलोले आवागमनमा सास्ती हुने गरेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयदेखि सडक अलपत्र अवस्थामा रहेको बताए । पटकपटक ताकेता गर्दा पनि काम हुन नसकेको जनाउँदै प्रमुख चौधरीले कार्यालयले बैंक ग्यारेन्टी तान्नका लागि पत्रसमेत काटेको बताए । । यसपटक पनि काम सम्पन्न नगरेको खण्डमा ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ ।


Read Previous

गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण

Read Next

आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै

Leave a Reply

Your email address will not be published.