Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

पहिराले आदिबराहताल बगरमा परिणत


पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदिबराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभई त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ ।

स्थानीय बासिन्दाका अनुसार नीलो तालको बीचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो । स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार, “बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएको भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन् । बराह देवता रहेको तालमा टाढा–टाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो ।”

कुवापानी पहाडबाट गत साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले जानकारी दिए । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराहताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । गत भदौ १४ गतेको जनैपूर्णिमाका दिन मन्दिर वरपर रहेको केही मात्रामा हिलो पन्छाएर पूजा गरिएको जिसीले बताए ।

स्थानीय टेकबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ताल संरक्षण समिति गठन गरिएको छ । समितिका अध्यक्ष घर्तीका अनुसार बजेट अभावमा तालभित्रको कमेरो लेदोमाटो हटाउन र तालसम्म पुग्ने कच्ची बाटो मर्मत गर्न सकिएको छैन । गाउँपालिकासँग यसका लागि बजेट नभएकाले प्रदेश सरकारसँग ताल संरक्षणका लागि तत्काल रु ५० लाख माग प्रस्ताव गरेको अध्यक्ष घर्तीले बताउनुभयो । रकम प्राप्त भएपछि मात्र ताल संरक्षणको काम सुरु गर्न सकिने अध्यक्ष घर्तीको भनाइ छ ।


Read Previous

व्यवस्थित सहरी विकास र नीतिगत प्रस्थानको खाँचो

Read Next

मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बु सहयोग

Leave a Reply

Your email address will not be published.