Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत


काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगडीसम्म विद्युत् पुर्याएको हो । प्राधिकरणले आइतबारदेखि गमगडीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति दिन थालेको छ ।

प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी गमगढी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति गर्दै आएको थियो । मुगुमा राष्ट्रिय प्रसारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब कर्णाली प्रदेशको हुम्ला जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिन बाँकी छ । हुम्लामा राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई ‘सर्वे’ भइरहेको छ ।

साना जलविद्युत् समय समय बन्द हुँदा मुगुमा हुने विद्युत् आपूर्तिको समस्या राष्ट्रिय प्रसारण लाइन पुगेपछि समाधान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । राष्ट्रिय प्रसारण लाइन पुगेकाले विद्युतीकरण तीव्र रुपमा अगाडि बढाइने उनको भनाइ छ । हाल मुगुमा प्राधिकरणका तीन हजार पाँच सय घरधुरी ग्राहक छन् ।

गत वर्षको असोजमा आएकोे भारी वर्षाका कारण गमगाड साना जलविद्युत्गृहमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको थियो । प्राधिकरणले तत्कालै ‘डिजेल जेनेरेटर’ जडान गरी विद्युत् आपूर्ति दिएको थियो । भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृह १,१०० मिटर लामो नहरमध्ये झण्डै ७०० मिटरमा क्षति पुर्याएको थियो ।

मुगुको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन गमगाडमा ३३/११ केभी सबस्टेसन र ११ केभीको लाइनलाई ३३ केभीमा स्तरोन्नति कार्य भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए ।


Read Previous

महासंघद्वारा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Next

ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन

Leave a Reply

Your email address will not be published.