Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

साना करदातालाई सहुलियत


काठमाडौं । सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट)मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु. एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने व्यवस्था भएकोमा अब भने महिनाको समय दिइएको छ ।

साना करदातालाई कर सहभागिता लागत र समय दुवै घटाइएको आन्तरिक राजस्व विभागले शुक्रबार जारी गरेको एक सूचनामा भनेको छ । साना करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मङ्सिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यस्तै, मङ्सिरदेखि फागुनसम्मको विवरण फागुन २५ गतेभित्र र चैतदेखि असारसम्मको कर विवरण साउन २५ गतेभित्र पेश गर्न सकिनेछ ।

मासिकरुपमा कर विवरण बुझाउन चाहने करदातालाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा १५ दिनभित्र जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ । विभागले वार्षिकरुपमा रु. एक करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई भ्याट विवरण मासिकरुपमै बुझाउन आग्रह गरेको छ । यसअघि त्यस्ता करदाताले द्वैमासिकरुपमा कर विवरण दाखिला गर्ने गरेका थिए ।

“मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ, विभागले जारी गरेको सूचनामा भनिएको छ । ‘संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिकरुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।’

चालु आर्थिक वर्षको बजेट तथा मूल्य अभिवृद्धि कर नियमावली २०५३ संशोधनअनुसार कर विवरण दाखिला अवधि परिवर्तन भएको विभागले भनेको छ । बजेट तथा नियमावलीअनुसार कर विवरण दाखिलाको समय परिवर्तन भएको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए ।


Read Previous

पाइप लाइनबाट घरघरमा ग्यास

Read Next

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

Leave a Reply

Your email address will not be published.