Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

प्रधानमन्त्रीको भारत भ्रमणमा २ सय मेगावाटका ५ आयोजनासँग व्यापार सम्झौता, पीडीए र प्रशारण लाइनको शिलान्याश हुने


काठमाडौं । बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकोक्रममा दुई देशबीच २ सय मेगावाट बराबरका पाँच आयोजनासँग मध्यकालीन विद्युत व्यापार सम्झौता (पीटीए) मा हस्ताक्षर हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले बर्षाको समयमा प्रत्येक १५ मिनेटमा प्रतिष्पर्धा गरी खुल्ला बजारमा विद्युत निर्यात गरिरहेकोमा पहिलोपटक मध्यकालीन पीटीए हुन लागेको हो । विद्युत प्राधिकरणका अनुसार, तत्कालका लागि साहस ऊर्जा लिमीटेडद्धारा उत्पादित सोलखोला (दुधकोशी) को ८३.४२ मेगावाट, माउण्टेन इनर्जी नेपाल लिमीटेडेको ४०.७४ मेगावाटको मिस्त्री खोला, बलेफी जलविद्युत लिमीटेडेको ३४.९२ मेगावाट बराबरको अपर बलेफी ए, नुम्बुर हिमालय हाइड्रोको २८.१७ मेगावाटको लिखुखोला एक र शिवश्री हाइड्रोपावर लिमीटेडको १२.७५ मेगावाट अपर चाकु खोला आयोजनाको विद्युत भारत निर्यातका लागि सम्झौता हुनेछ ।

गत बर्षामा विद्युत प्राधिकरणले खुल्ला बजारमा ४५२ मेगावाटसम्म विद्युत निर्यात गरेको थियो तर प्रत्येक १५ मिनेटमा प्रतिष्पर्धा गरी दर निर्धारण हुने तथा दरमा उत्तारचढाव हुने भएकोले प्राधिकरणले सस्तोमा बिजुली बेच्नुपर्ने अवस्था छ । सरकारले भारतसँग दीर्घकालीन (२५ वर्षका) लागि पीटीएका लागि प्रस्ताव गरेपनि सोबारे भने टुंगो लागिसकेको छैन । यसबारे भने द्धिपक्षीय छलफल भने जारी छ ।

बंगलादेशसँग विद्युत व्यापार

प्रधानमन्त्री भारत भ्रमणकै क्रममा नेपालबाट बंगलादेशमा विद्युत व्यापारका लागि सहमति भएको संयुक्त घोषणापत्रमा उल्लेख गर्ने सरकारको तयारी छ । ४० मेगावाटसम्म नेपालबाट बंगलादेश विद्युत व्यापार गर्ने तयारी अघि बढाइएको छ । तर यसमा नेपालले सिधै बंगलादेशलाई व्यापार भने गर्ने छैन । विद्युत प्राधिकरणले भारत सरकारको नोडल एजेन्सी एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) मार्फत बंगलादेशलाई विद्युत व्यापार गर्ने छ ।

पहिला ५१ मेगावाटको लिखु–४ आयोजना प्रस्ताव गरिएपछि ३२ देखि ४० मेगावाटसम्म विद्युत व्यापार गर्ने त्रिपक्षीय समझदारी भएकोले त्यो आयोजनाको सट्टा अन्य आयोजनाको तयारी अघि बढाइएको छ । प्राधिकरणले १४.१ मेगावाटको देवीघाट र २४ मेगावाटको त्रिशुली जलविद्युत आयोजनाको बिजुली बंगलादेश बेच्नका लागि प्रस्ताव अघि बढाएको छ ।

तल्लो अरुणको पीडीए, फूकोट कर्णाली भारतीय कम्पनीलाई

प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा ६६९ मेगावाटको तल्लो अरुणको आयोजना विकास सम्झौता (पीडीए) सम्झौता हुने भएको छ । यसका लागि हालै लगानी बोर्डबाट लोअर अरुण पावर डेभलपमेण्ट कम्पनीसँग पीडीए गर्ने अन्तिम मस्यौदालाई स्वीकृति दिईसकेको छ भने यसलाई मन्त्री परिषषदले समेत अनुमोदन गरिसकेको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा भारतीय कम्पनीले निर्माण गर्न लागेका नौ सय मेगावाटका अरुण तेस्रो र अपर कर्णालीको पीडीएमा भएकोमा नौ बर्षपछि प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा अर्को जलविद्युत आयोजनासँग पीडीए हुन लागेको हो ।
यसैगरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा ४८० मेगावाटको फूकोट कर्णाली भारतीय कम्पनी एनएचपीसी लिमीटेडालाई दिने गरी तयारी अघि बढाइएको छ । यसमा ५१ प्रतिशत भारतीय कम्पनी एचएचपीसी र ४९ प्रतिशत सेयर विद्युत उत्पादन कम्पनीको रहने गरी संयुक्त रुपमा आयोजना निर्माण गर्ने गरी यो तयारी अघि बढाइएको हो ।

बुटबल–गोरखपूर अन्तरदेशीय प्रसारण लाइनको शिलान्याश

प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा दुई देशबीच निर्माण हुन लागेको दोस्रो बुटबल–गोरखपूर अन्तरदेशीय प्रसारण लाइनको शिलान्याश तथा इप्लीमेन्टेसन एण्ड ट्रासमिसन सर्भिस एग्रिमेन्ट (आईटीएसए) सम्झौता हुने भएको छ ।

नेपाल र भारतबीच विद्युत व्यापारका लागि महत्त्वपूर्ण मानिएको यो ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई सहजीकरण गर्न छुट्टै निकायकोरूपमा गत भदौमा बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड स्थापना गरिसकिएको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिडको ५०/५० प्रतिशत सेयर स्वामित्व छ ।

यस परियोजनामा पनि पहिलो ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइनमा जस्तै एकल क्यापासिटी बुकिङ नेपालले गर्ने निर्णय गरिसकेको छ । कूल १४० किलोमिटर प्रसारण लाइन मध्ये नेपालतर्फको भूभागमा २० किलोमिटर पर्दछ भने भारततर्फ १२० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।

यसैगरी न्यू मोदी प्रसारण लाइनको उद्घाटन दुई देशका प्रधानमन्त्रलयले संयुक्त रुपमा गर्ने कार्यक्रम छ । मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, नेपालको ऊर्जा तथा जलविद्युत क्षेत्रमा भारतीय लगानीको प्रर्वद्धन गर्ने लगायतका सम्झौता गर्ने तयारी रहेको जानकारी दिए । दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने उनले बताए ।


Read Previous

पुँजीगत खर्च बढाउने सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत

Read Next

पदमार्गले जोडिँदै करवाकेली–मोहरेडाँडा

Leave a Reply

Your email address will not be published.