Nepal Purbadhar

आगामी हप्ता काठमाडौंमा रोजगार मेलाका आयोजना 


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ । रोजगार मेला यही जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा आयोजना हुनेछ । रोजगार मेलाको जेठ १६गते विहान १० बजे उद्घाटन गरिने कार्यक्रम छ ।

रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ ।

मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने छ ।

कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो ।

रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना हुने छन् । कामको खोजीमा रहेकाहरूले महासंघको वेभसाइट  www.fncci.org मा गई कार्यक्रममा सहभागीताका लागि रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन आज सांझसम्म चल्ने छ । रोजगार मेलामा सहभागी हुने कम्पनीहरूका लागि जेठ १० गतेसम्म रजिष्ट्रेशनको समय कायम गरिएको थियो ।

रोजगार मेला जेठ १७ गतेसम्म चल्ने छ । रोजगार मेलालाई एउटा क्यालेण्डर इभेन्टकोरूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ ।


Read Previous

भन्सार प्रशासनलाई चुस्त र करको दायरा फराकिलो बनाउनुपर्नेमा चेम्बरको जोड

Read Next

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र