काठमाडौं । नेपालमा उत्पादन भएका सवारी साधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिएका छन् । नेपालमा उत्पादन भएका सवारी साधनहरुको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको छ ।
कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुने भएको छ । सोमबार मन्त्री ज्वालाले मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिए । ‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’ मन्त्री ज्वालाले भने ‘स्वदेशमै उत्पादन भएका सवारी साधनलाई हामी प्रोत्साहन गर्छाै, तर त्यसको सुरक्षा, सुलभ मुल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।’
यात्रीलगायतले नेपालमा विद्युतिय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सवारी साधनको टेष्ट पनि भइसकेको छ । तर प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । प्रज्ञापन पत्रको सट्टा कर बिजेक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ ।
यातायात व्यवस्थासम्बन्धी कार्यविधीमा नेपालमा पनि सवारी साधनहरु उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था छ ।