Nepal Purbadhar

विमानस्थल भन्सार राजस्व सङ्कलन लक्ष्यकाे ५२ प्रतिशत मात्रै   


काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षको ८ महिनामा करिब १२ अर्ब रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५२.०२ प्रतिशत हो ।

विमानस्थल भन्सार कार्यालयले चालू आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार रुपैयाँ भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको हो । कार्यालयले चालू आवमा  ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

फागुनमा मात्रै  दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार रुपैयाँ मात्रै सङ्कलन भएको कार्यालयको भनाइ छ । फागुनमा सङ्कलन भएको राजस्व लक्ष्यकाे ६३.२३ प्रतिशत हाे ।

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ । उक्त शीर्षकमा कार्यालयले पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार रुपैयाँ बराबर राजस्व उठाएको छ । साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा ४ अर्ब ६० करोड २४ लाख ४८ हजार रुपैयाँ र अन्तःशुल्क शीर्षकमा  एक अर्ब १९ करोड २५ लाख ५७ हजार रुपैयाँ सङ्कलन गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व सङ्कलनमा कमी आएको बताए । उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो ।


Read Previous

पर्यटकीय आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

Read Next

आँधिखोलाको विद्युत महसुल समायोजन गर्न शुक्रबार सार्वजनिक सुनुवाई