Nepal Purbadhar

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

पर्यटकीय आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज


वीरगञ्ज । पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख बासस्थान मानिएको सो निकुञ्ज पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२औँ निकुञ्जका रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी ३ जिल्लासँग जोडिएको सो निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउनेक्रम बढेकाे निकुञ्ज प्रशासनले जनाएको छ । “विगतको भन्दा अहिले निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटक बढेका छन्”, निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले भने, “बाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन् ।”

उनका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको अवधिमा एक सय ४० पर्यटक निकुञ्जमा भ्रमण गरेका छन् । निकुञ्ज प्रवेश गर्ने तीन मार्गमध्ये मुख्यद्वार आधाभारबाट ५५ नेपाली र १२ बाह्य गरी ७७ पर्यटक भित्रिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

यस्तै, गढुवालाइन प्रवेशद्वारबाट १० नेपाली र प्रतापपुरबाट ४२ नेपाली तथा आठ बाह्य गरी ५० पर्यटक निकुञ्ज घुम्न आएको निकुञ्ज प्रशासनले जनाएको छ । गत आव २०७८/७९ मा नेपाली र विदेशी गरी सात सय ७७ पर्यटकले निकुञ्जमा अवलोकन भ्रमण गरेका थिए । सूचना अधिकारी खड्काका अनुसार आव २०७८/७९ मा ७ सय ६९ नेपाली र जना विदेशी पर्यटक निकुञ्ज भित्रिएका थिए ।

सो आवमा वनक्षेत्र, प्रशासनिक, दण्ड जरिवाना, पर्यटकलगायतका शीर्षकबाट ८८ लाख ४६ हजार ६ सय ७९ राजस्व सङ्कलन भएको जनाएको छ । निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहलगायत प्राकृतिक तथा मनोरम दह पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन् । यसका साथै निकुञ्जभित्रको दुर्लभ वन्यजन्तु र चराचुरुङ्गीको बाक्लो उपस्थितिले पर्यटकलाई लोभ्याइ रहन्छ ।

निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिङ्गे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायतका जनावर छन् । विगतमा पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र सहज उपलब्धतासँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्यासमेत वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ ।

अहिले निकुञ्जभित्र १ सय ६३ गौरीगाई, ४० देखि ५० हात्ती र ८ देखि १० को सङ्ख्यामा एकसिङ्गे गैँडा रहे पनि तथ्याङ्कमा ३ गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिए । निकुञ्जले निर्माण गरेको कृत्रिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुको सङ्ख्या बढेको प्रमुख रामले बताए ।

कूल ६२७.३९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, ४ सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको बासस्थान छ ।

निकुञ्ज घुम्न आउने पर्यटकको अवलोकन र घुमफिरका लागि निकुञ्जको जङ्गलभित्र एक दर्जन दृश्यावलोकन स्तम्भसमेत बनाइएको छ । यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । हात्तीमा जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीसाधनमा जङ्गल सफारी गर्नसक्ने व्यवस्थासमेत मिलाइएको प्रमुख रामको भनाइ छ ।

निकुञ्जभित्र आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ र हात्ती चढेको ६ सय ५० रुपैयाँ तोकिएको छ । नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ र हात्ती चढेमा ६ सय ५० रुपैयाँ तोकिएको छ । निकुञ्जलाई मधेस प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै निकुञ्जको प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।

निकुञ्जको भ्रमणमा आउने पाहुनाको स्वागतका लागि मध्यवर्ती क्षेत्रमा सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टेसमेत सञ्चालन गरिएको छ । त्यसले यहाँ आउने पाहुनालाई मिठो आतिथ्यतासँगै स्वादिलो भोजन र गीतसङ्गीतले मनोरञ्जन प्रदान गर्ने गरेको छ ।

(राजु विश्वकर्मा ,रासस)


Read Previous

तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

Read Next

विमानस्थल भन्सार राजस्व सङ्कलन लक्ष्यकाे ५२ प्रतिशत मात्रै   

Leave a Reply

Your email address will not be published. Required fields are marked *