Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

आँधिखोलाको विद्युत महसुल समायोजन गर्न शुक्रबार सार्वजनिक सुनुवाई


काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) अन्तर्गत सञ्चालित ९.४ मेगावाटको आँधिखोला जलविद्युत केन्द्रबाट उत्पादन भई स्थानीय क्षेत्रमा वितरित भइरहेको विद्युतको महसुल समायोजन गर्न सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले बिपिसी अन्तर्गतको आँधिखोला वितरण केन्द्रले विद्युत महसुल समायोजनका लागि गरेको प्रस्ताव उपर आगामी शुक्रबार (चैत १०) गते सार्वजनिक सुनुवाई गर्न लागेको हो ।

आयोगले शुक्रबार दिउँसो १२ देखि अपरान्ह ३ बजेसम्मका लागि सार्वजनिक सुनुवाईको आयोजना गरिएको जनाएको छ ।विद्युत नियमन आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ मा भएको व्यवस्था बमोजिम उपभोक्तामा वितरित विद्युत महसुल समायोजन गर्न सरोकारवालाहरूसँग सार्वजनिक सुनुवाई गर्नुपर्ने कानुनी प्रावधान छ ।

बिपिसी अन्तर्गतको जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत स्थानीय क्षेत्रमा नै वितरण गरिएको छ । स्थानीय क्षेत्रमा खपत हुन नसकेको विद्युत मात्रै नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा जोडिएको छ ।

वितरण केन्द्रले ३३ तथा ११ केभी वितरण लाइनमार्फत उपभोक्ताको घर–घरमा विद्युत सेवा पुर्याएको छ । वितरण केन्द्र अन्तर्गत ३ हजार २ सय ५५ किलोमिटर सर्किट प्रसारण तथा वितरण लाइनमार्फत विद्युत वितरण हुँदै आएको छ ।

आयोगले आँधीखोलाको विद्युत महसुल समायोजन गर्न गरिएको प्रस्ताव उपर सम्बन्धित सरोकारवाला समक्ष मौखिम एवं लिखित राय, सुझाव तथा प्रतिक्रिया चैत ९ गतेभित्र पठाउन आग्रह समेत गरेको छ । साथै, सार्वजनिक सुनुवाई कार्यक्रममा विद्युतका ग्राहस्थ उपभोक्ता, उद्योगी व्यवसायी, सर्वसाधारण उपभोक्ताका प्रतिनिधिमुलक संस्था, सम्बन्धित स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण सरोकारवालालाई सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीताका लागि अनुरोध गरेको छ ।

बिपिसीले थ्री फेज मझौता भोल्टेज (३३/११ केभी) मा डिमाण्ड शुल्क प्रतिकेभिए १० हजार रुपैयाँ तथा विद्युत महसुल दर बैशाखदेखि मंसिरसम्म प्रतियुनिट १६.३६ रुपैयाँ र पुसदेखि चैतसम्म प्रतियुनिट १७.३६ रुपैयाँ पुर्याउन प्रस्ताव गरेको छ ।

बिपिसीले तल्लो भोल्टेज स्तर (२३०/४०० भोल्ट) का औद्योगिक समूहतर्फ ग्रामीण तथा घरेलु ग्राहकको प्रतियुनिट विद्युत महसुल दर ११.११ रुपैयाँ पुर्याउन प्रस्ताव गरेको छ । यो श्रेणीका ग्राहका लागि यसअघि प्रतियुनिट ५.१५ रुपैयाँ महसुल लिँदै आएकोमा समय सापेक्ष त्यसलाई बढाउन प्रस्ताव गरिएको हो । यो श्रेणीका ग्राहकले यसअघि प्रति केभिए ४० रुपैयाँ डिमाण्ड शुल्क तिर्दै आएकोमा त्यसलाई बढाएर ६० रुपैयाँ पुर्याउन प्रस्ताव गरेको छ ।

यस्तै, साना उद्योगका ग्राहकलाई डिमाण्ड शुल्क ७० रुपैयाँबाट बढाएर ११० रुपैयाँ, विद्युत महसुल प्रतियुनिट ६.४० रुपैयाँबाट बढाएर १३.८१ रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ । व्यापारिक वर्गका ग्राहकको हकमा प्रतियुनिट ७.४० रुपैयाँ रहेको विद्युत महसुल दर १५.९७ रुपैयाँ बढाउन तथा डिमाण्ड शुल्क पनि २१५ रुपैयाँबाट बढाएर ३२५ रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ ।

गैरव्यापारिक ग्राहकको हकमा विद्युत महसुल प्रतियुनिट १७.०५ रुपैयाँ तथा डिमाण्ड शुल्क २१५ रुपैयाँ पुर्याउन आयोगमा प्रस्ताव परेको छ । यो श्रेणीका ग्राहकले यसअघि प्रतियुनिट ७.९० रुपैयाँ तिर्दै आएका थिए भने डिमाण्ड शुल्क १४० रुपैयाँ थियो ।

आँधिखोला वितरण केन्द्रले वितरण गरेको विद्युत खपत गर्ने ३९ हजार २ सय जना ग्राहक छन् । यी ग्राहकले ३ करोड ४३ लाख युनिट विद्युत खपत गर्दै आएका छन् ।

यस्तै, सिँचाइतर्फ प्रतियुनिट ३.६० रुपैयाँ लिँदै आएकोमा अब यसलाई बढाई ७.७७ रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ । सामूदायिक खानेपानीका ग्राहकको हकमा प्रतियुनिट ३.४० रुपैयाँ हाल लिँदै आएकोमा यसलाई बढाएर ७.३४ रुपैयाँ पुर्याउनु पर्ने बिपिसीको प्रस्ताव छ ।

अन्य खानेपानीका ग्राहकको हकमा भने अहिले प्रतियुनिट ४.८० रुपैयाँ लिँदै आएकोमा त्यसलाई बढाएर १०.३६ रुपैयाँ कायम गर्न प्रस्ताव गरिएको छ । यसबाहेक पनि यातायात (चार्जिङ स्टेसन समेत), मन्दिर, सडक बत्ती, मिटर जडान भएको/जडान नभएको, अस्थायी कनेक्सन, गैर ग्रहास्थ, मनोरञ्जन व्यवसाय, टाइम अफ डे (टिओडी मिटर) मा पनि विभिन्न श्रेणीका ग्राहकको विद्युत महसुल दर बढाएर समायोजन गर्न आयोग समक्ष प्रस्ताव गरेको छ ।

बिपिसी अन्तर्गतका आँधीखोला र झिम्रुक जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत स्थानीय क्षेत्रमा वितरण गरिएको छ । झिम्रुकको महसुल दर नेपाल विद्युत प्राधिकरणका ग्राहकको सरह छ । आँधिखोला वितरण केन्द्रले भने लामो समयदेखि सस्तो दरमा विद्युत वितरण गर्दै आएको थियो ।


Read Previous

विमानस्थल भन्सार राजस्व सङ्कलन लक्ष्यकाे ५२ प्रतिशत मात्रै   

Read Next

वर्ल्डलिंकमा बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्ट फण्डले गरे २ अर्बको संयुक्त लगानी

Leave a Reply

Your email address will not be published.