Nepal Purbadhar

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

चिसाे कम हुँदै गएपछि मुस्ताङ पुग्ने पर्यटककाे संख्या बढ्न थाल्याे   


गण्डकी ।  मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै २ महिनाभन्दा बढी समय सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।

“चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्”, उनले भने, “फागुनको २३, २४ गतेतिर हिमपात भएपछि पर्यटक हिउँमा रमाउनका लागि पनि आउने गरेका छन् ।” मुस्ताङको यात्रा तय गरेका पर्यटक कतिपय मुक्तिनाथसम्म पुग्ने गर्दछन्  ।

कतिपय पर्यटक नेपाल र चिनबीचको कोरला नाकासम्म पुगेर फर्कन्छन् । भौगालिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक पर्यटनसँगै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य हो । यहाँको भौगोलिक विविधताले जो–कोहीलाई लोभ्याउने गरेको छ ।

पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । करिब ४ दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।

विगतको मुस्ताङमा आउँदा पौवा र ठाँटी, भेँडीगोठमा बस्नुपर्ने बाध्यतालाई सुविधासम्पन्न होटलले अन्त्य गरिदिएको अर्का स्थानीय रामकुमार थकालीले बताए । पछिल्ला समयमा मुस्ताङका ठिनी, स्याङलगायतका गाउँमा स्थानीयले घरबास पनि सञ्चालनमा ल्याएका छन् ।

उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताए । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ ।

करिब ६ सय जनाको बसोबास रहेको लोमन्थाङ झन्डै दुई महिना भने सुनसान भएको बताउँदै उनले चिसोका कारण अधिकांश व्यक्ति तलतिर झरेको बताए । “चिसो घटेसँगै विस्तारै स्थानीयवासी फर्कन थालेका छन्”, उनले भने, “पछिल्ला दिनमा पर्यटकको आगमन पनि बढ्दै गएको छ ।”

उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको झोङका स्थानीय मिककुमार गुरुङले जानकारी दिए । झोङमा रहेको ऐतिहासिक गुफाले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको बताउँदै उहाँले पाँच तला र एक सय आठ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण गन्तव्य रहेको बताए ।

कोरोना त्रासका कारण विगतका दुई वर्ष यहाँको पर्यटनमा पनि असर परेको स्थानीयवासी बताउँछन् । कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि स्थानीय पालिकासँगै पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि कार्यक्रम अघि बढाएका छन् । मुस्ताङमा हालै पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए ।

“चिसो घट्दै गएको अवस्थासमेत पारेर हामीले फागुनको तेस्रो साता यस क्षेत्रमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेका हौं”, उनले भने, “प्राकृतिकरूपले सम्पन्न यहाँका भौगालिक अवस्थितिसँगै मुक्तिनाथ मन्दिर एवं ऐतिहासिक गुम्बा यहाँका पर्यटकीय आकर्षण हुन् ।”

प्रवर्द्धनात्मक भ्रमणकै क्रममा डिजिटल मार्केटिङ, स्थानीय उत्पादनको ब्रान्डिङलगायतका विषयमा यहाँका युवा तथा महिला व्यवसायीलाई तालिमसमेत प्रदान गरिएको उनले बताए । चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थी आउने क्रम बढिरहेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

स्वदेशी दर्शनार्थीसँगै भारतीय दर्शनार्थी पनि मुक्तिनाथ आउन थालेको बताउँदै उहाँले आगामी दिनमा उक्त सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे । पछिल्ला समयमा यहाँका स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारमा लैजानका लागि स्थानीय सक्रियता बढेको कुच्छप तोरङ्गा महिला लघुउद्यम समूहका अध्यक्ष श्यामु थकालीले बताए । चिसो घटेसँगै बढ्दै गएको पर्यटकको आगमनले यहाँका स्थानीय उत्पादनको व्यापार पनि बढ्ने उनले बताए ।


Read Previous

ग्रिड कम्पनीकाे पहिलाे मेवा-चांगे प्रसारण लाइन आयोजनाको निर्माण सुरु

Read Next

विश्वव्यापी पानी सङ्कट:वर्षातकाे पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजीमा जाेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *