Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

विश्वव्यापी पानी सङ्कट:वर्षातकाे पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजीमा जाेड


काठमाडौं । नेपालमा उत्पन्न पानीको सङ्कट र त्यसकाे न्यूनीकरण गर्ने उपायको खोजी गरी कार्यान्वयन गर्ने उद्देश्यका साथ विश्व पानी दिवसका अवसरमा ‘वर्षातकाे पानी सङ्कलनःपानी सुरक्षण र जलवायु परिवर्तनको असरको सम्बोधन’ विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन सुरु भएको छ । वर्षातकाे पानी सङ्कलन गरी दिगो विकासको लक्ष्यप्राप्तिमा सहयोग पुर्याउने, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जल उत्पन्न प्रकोपलाई क्रमशःकम गर्दै आम-जनतामा पानीको महत्त्वका बारेमा चेतना जगाउने उद्देश्यले आयोजना गरिएको सम्मेलन सुरु भएकाे हाे ।

खानेपानी आपूर्ति मात्रै नभई नेपालको आर्थिक विकास, दिगो विकास, जलविद्युत उत्पादन, पर्यटन र औद्योगिक विकासका लागि पानीको व्यवस्थापन महत्त्वपूर्ण रहेकाले सम्मेलनमा वर्षातकाे पानीको उपयुक्त व्यवस्थापन जरुरी रहेकोबारे सम्मेलनमा छलफल भइरहेकाे आयोजक समितिका अध्यक्ष रामदीप साहले जानकारी दिए । मनसुनको पानीले पहाडी र तराई क्षेत्रमा पानीको पुनःभरण गराई मानव जीवनका अलावा वातावरणका लागि पनि आवश्यक पानी उपलब्ध हुँदै आएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले काठमाडौं उपत्यकाको खानेपानी समस्याको समाधानका लागि भनेर अगाडि बढाइएको मेलम्ची खानेपानी परियोजनाको दीर्घजीवनमा नै समस्या पैदा भएको बताए । उनले मेलम्ची बाढीका कारण आयोजना समस्या आएको तथा लार्के र याङ्ग्रीको पानी थप गर्ने विषयमा दातृ निकायले पनि भौगर्भिक जोखिमका बारेमा तत्काल कुनै निर्णय लिन नसकेको उल्लेख गरे ।

हरेक घरमा सौर्य प्रणाली जडान गरे जस्तै काठमाडौं उपत्यकाभित्रका घरमा पनि वर्षात्को पानी सदुपयोग गर्ने प्रणाली राख्नुपर्ने उनकाे भनाइ छ । मेलम्चीको पानीको प्रयोगपछि त्यसको उचित व्यवस्थापन र प्रशोधनमा ध्यान दिने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको भए पनि त्यसका लागि सबै निकायको सार्थक सहयोग जरुरी रहेको सचिव गेलालको भनाइ छ ।

वर्षात पानीको सदुपयोग, नदी स्थानान्तरण तथा पुनः भरणका लागि सरकार, निजी क्षेत्र, गैरसरकारी संस्थाका अलावा हरेक नागरिक उत्तिकै जिम्मेवार बन्नुपर्ने सचिव गेलालको जोड छ । जलवायु परिवर्तनका कारण पानीको स्रोतमा नै समस्या खडा भएको, ठूलो ऊर्जाको स्रोत प्रयोग गरेर माथिल्लो क्षेत्रमा पानी तान्नुपरेको उल्लेख गर्दै उहाँले सरकार एक्लैले अब पानीको व्यवस्थापन गर्नै नसक्ने अवस्था आएको बताए ।

काठमाडौं उपत्यकामा आइपुगेको मेलम्चीको पानी चक्रपथ वरपर मात्रै वितरण गर्न र त्यसको सञ्जाल बनाउनका लागि मात्रै सरकारले रु ३० अर्ब बराबरको लगानी गर्नुपर्ने अध्ययनले देखाएको उनकाे भनाइ छ । चालू आर्थिक वर्षमा मन्त्रालयले २० अर्ब रुपैयाँ बराबरको बजेट पाएको भए पनि आगामी आर्थिक वर्षका लागि  १३ अर्ब रुपैयाँ बराबरको मात्रै बजेट सीमा रहेकाले खानेपानीमा काम गर्न थप जटिलता पैदा हुने बताए ।

पूर्वमन्त्री गणेश साहले तीनै तहका सरकारले आफ्नो कार्यक्षेत्र स्पष्ट पारेर खानेपानीको क्षेत्रमा दीर्घकालीन सोंचका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले पानीका स्रोतमा देखिएको सङ्कुचनलाई कम गर्दै वर्षात्को पानी बहुउपयोग गर्नेतर्फ तत्कालै कदम चाल्न सुझाव दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकूलपति सुनिलबाबु श्रेष्ठले पानीको महत्त्व दर्शाउने र यस क्षेत्रमा कार्य र सङ्घसंस्थाका अलावा सरकारकोसमेत साझा मत बनाउने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए । पानीको प्रयोग, पुनःप्रयोग तथा वर्षात्को पानीको सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारेमा यस्ता सम्मेलनले महत्वपूर्ण सन्देश दिने उनकाे भनाइ छ ।

विकासका नाममा वातावरणीय क्षेत्रको ख्याल नै नगरी डोजरमार्फत बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्र पारिँदा पहाडी तथा हिमाली क्षेत्रमा पानीका मुहान सुकेका छन् भने पानी सङ्कटको आमन्त्रण गरिरहेको छ ।

विश्वमा ३ अर्ब बढी मानिसले पानीको अभाव बेहोरिरहेका छन् । हरेक वर्ष बाढीले प्रभावित हुनेको सङ्ख्या पाँच लाखले बढ्ने गरेको छ । खानेपानीको अभाव र कम भरपर्दो वर्षाका कारण द्वन्द्व चर्कने र बसाइँसराइ हुने र विश्वका धेरै स्थानमा भोकमरी हुने अवस्था सिर्जना भएको छ । पानी व्यवस्थापनका नवीनतम ज्ञान र प्रविधिको खोजी जरुरी रहेको सम्मेलनका आयोजकले जोड दिएका छन् । सम्मेलनमा विभिन्न चार प्राविधिक सत्र हुनेछन् । सम्मेलनको अन्त्यमा काठमाडौं घोषणापत्र जारी हुनेछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा हरेक वर्षको मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउने प्रस्ताव २२ डिसेम्बरमा पारित गरेको थियो । सन् १९९३ देखि हरेक वर्ष विश्व पानी दिवस मनाइँदै आएको छ । यस वर्षको पानी दिवसको नारा ‘परिवर्तनलाई गति दिँदै’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसङ्घले दिगो विकासका लागि पानी सङ्कटका कारणको खोजी, पुनःभरण र वर्षात्को पानी सङ्कलन, पुनः उपयोगलगायतका विषयमा नीति निर्माण र विश्वव्यापीरुपमा छलफल गराउँदै आएको छ । पानीको सङ्कटका कारणको खोजी गरी समाधानका उपाय पहिल्याउने, असमान पहुँचको अन्त्य गर्ने तथा त्यससँग जोडिएको मानव अधिकारको सुनिश्चितता गराउनेतर्फ ध्यान दिन सम्मेलनले महत्वपूर्ण आधार तयार पार्ने विश्वास लिइएको छ ।

यस्तै, वर्षातकाे पानी सङ्कलनमा नगर तहको नेतृत्व विकास, अनुदान कोषको व्यवस्था, पानी सङ्कलनका प्रविधि र उपयोग, नीति र मार्गनिर्देशन, त्यसको सामाजिक र आर्थिक लाभलगायत दुई दर्जन बढी विषयमा छलफल हुने आयोजक स्मार्ट वास सोलुसनका अध्यक्ष रामदीप साहले जानकारी दिए ।


Read Previous

चिसाे कम हुँदै गएपछि मुस्ताङ पुग्ने पर्यटककाे संख्या बढ्न थाल्याे   

Read Next

उद्योग, प्रतिस्ठान एवं आयोजना सञ्चालन प्रभावको स्वःअनुगमन प्रतिवेदन बुझाउन विभागको ताकेता

Leave a Reply

Your email address will not be published.