Nepal Purbadhar

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक बन्न २१ जनाको आवेदन


काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को रिक्त कार्यकारी निर्देशक पदका लागि २१ जना आकांक्षीको आवेदन परेको छ । मधुसुधन अधिकारी आफ्नो कार्यकाल पूरा गरी विदा भएपछि रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि केन्द्रभित्रकै ६ जना सहित २१ जनाले आवेदन दिएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुन १४ गते रिक्त स्थानको पदपूर्तिका लागि आवेदन खुलाएको थियो । आवेदन दिने अवधि सकिने दिन आइतबार साँझसम्ममा १५ जना केन्द्र बाहिरका सहित २१ जनाले खुल्ला प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् ।

केन्द्रभित्रबाट अहिले कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाएका नवराज ढकालको आवेदन परेको छ । उनी अघिल्लो पटक पनि प्रतिस्पर्धामा उत्रिएका थिए । योग्यता र वरियताको हिसाबमा ढकाल केन्द्रको कार्यकारी निर्देशक बन्न योग्य व्यक्ति हुन् ।

यस्तै केन्द्रका निर्देशकहरू नारायण अधिकारी, सूर्यप्रसाद सापकोटा, तथा सहायक निर्देशकहरू लक्ष्मण प्रसाद घिमिरे, रणबहादुर थापा र लोकराज पाठकको आवेदन परेको छ । यी ५ जना मध्ये अधिकारीको सम्भावना बलियो देखिन्छ ।

यस्तै, मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोग सचिवालयकी सिनियर डिभिजनल इन्जिनियर किरण गौतमले केन्द्रको कार्यकारी निर्देशक बन्ने इच्छा व्यक्त गर्दै आवेदन दिएकी छन् । २१ जना प्रतिस्पर्धि मध्ये उनी एक मात्र महिला आवेदक हुन् । उनीसँग ऊर्जा क्षेत्रमा काम गरेको करिब डेढ दशकको अनुभव छ ।

निजी क्षेत्रबाट कुशल गुरुङको आवेदन परेको छ । उनी वैकल्पिक ऊर्जाको क्षेत्रमा लामो समयदेखि सक्रिय भएर काम गरिरहेका छन् । आवेदन दिने यी व्यक्तित्वले नवीकरणीय ऊर्जाको क्षेत्रमा लामो समयदेखि सक्रिय भएर काम गरिरहेका छन् ।

मन्त्रालयले वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ मा भएको व्यवस्था बमोजिम सार्वजनिक सूचना जारी गरी केन्दको कार्यकारी निर्देशक पदका लागि खुल्ला प्रतिस्पर्धा आह्वान गरेको थियो। कार्यकारी निर्देशक पदमा आवेदनका लागि योग्य हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी विषयमा स्नातकोत्तर तहसम्मको उच्च शिक्षा हासिल भएको हुनुपर्ने मापदण्ड तोकिएको थियो ।


Read Previous

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

Read Next

खन्ती-जोमसोम सडककाे कालोपत्र गर्न सुरु