Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी


काठमाडौं ।  कालीगण्डकी करिडोरमा झण्डै ३६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो ।

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजनालाई समेटेको छ । डिजाइनको अन्तिम काम भइरेहको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुङ्गा–कोरला योजनाका प्रमुख जगत प्रजापतिले बताए । यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उनले जानकारी दिए ।

सरकारले अध्ययन गरेको र निर्माण पनि सरकारले गर्ने गरी योजना अघि बढाइएको छ । यो आर्थिक वर्ष ठेक्कामा जाने गरी तयारी अघि बढाइएको छ । अध्ययन प्रतिवेदन आएर फाइनल भएपछि विभाग हुँदै मन्त्रालय लगेर प्रतिवेदन स्वीकृत गर्नुपर्नेछ ।

विगतमा अस्थायी सडक संरचना भएको ठाउँमा स्थायी सडकका लागि निर्माण गर्ने गरी योजना अघि बढाइएको हो । सो खण्डमा दुईतीन वर्षदेखि नियमित रुपमा वर्षामा बाढीपहिरोको समस्या आइरहेको थियो । भविष्यमा नदीमा बाढीपहिरो आउँदा सतह बढ्ने हुँदा यो सडकको विकल्प खोजिएको उनले  बताए । ‘एक समयमा नदी हिँडेको ठाउँ भएकाले फेरि पनि दोहोरिनसक्छ’  उनले भने ।

५ वर्ष पहिले नै यसको प्रारम्भिक अध्ययन भएको र अहिले आएर यसलाई कार्यक्रमका रुपमा अघि बढाइएको योजनाले जनाएको छ । समग्र नेपालीबाट अध्ययन र लगानी पनि नेपालीबाट नै गर्ने गरी योजना अघि बढाइएको हो । सो सुरुङको लम्बाइ झण्डै ३५० देखि ३६० मिटर हुने देखिएको छ । अध्ययन सकिएर आउँदा केही तलमाथि भए पनि सडकको लम्बाइको हाराहारीमा सुरुङको लम्बाइ हुने देखिएको छ । सुरुङ निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले समस्या नभएको प्रमुख प्रजापतिले बताए ।

चालु आवमा १ करोड २३ लाख रूपैयाँको सिलिङ रहेको छ । यसको लागत ८० करोड रूपैयाँ खर्च हुनसक्ने अनुमान गरिएको छ । ठेक्कामा जाँदा त्यो लागत अझै कममा हुने देखिएको छ । ‘कम लम्बाइको सुरुङ भएकाले सडक सुरक्षाका संरचना निर्माण गर्न नपर्ने र सडक बत्ती आवश्यक नहुने हुँदा लगानी लामा पुलको तुलनामा कम पर्नैछ’ उनले भने ।

यस किसिमको साना सुरुङ पहाडी सडकमा धेरै ठाउँमा आवश्यक रहेको योजना प्रमुख प्रजापतिले बताए । सडकमा मोड कम हुने र त्यसले गर्दा दुर्घटना हुने गरेकामा सुरुङ बनाउँदा सडक सुरक्षित हुने उनको भनाइ छ । निर्माणको अवधि कति हुन्छ भनी ‘डिजाइन’बाट थाहा हुने भए पनि दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।

हाल सञ्चालनमा रहेको सडकभन्दा सुरुङ निर्माण भएर लम्बाइ कम भने नहुने उनले बताउनुभयो । अहिलेको सडक स्थायी नभएको र वर्षामा बाढी आउँदा सडक नै नरहने हुँदा स्थायी सडकका रुपमा अहिले सुरुङ निर्माण गर्न लागिएको छ । भूबनोटका आधारमा अहिले सञ्चालनमा रहेको सडकले दीर्घकालीन रुपमा काम नगर्ने र अरु संरचना निर्माण गर्न पनि नसकिने देखिएकाले सुरुङको विकल्प रोजिएको हाे । ‘सडक छोटो बनाउनेभन्दा सडक अस्थायीको सडकको स्थायी संरचना बनाइएको हो’ उनले भने ।

विगतका वर्षमा यो सडक धेरै पटक मर्मत गरिएको थियो । सडकको सुरक्षाका लागि पर्खाल लगाइएको भए पनि वर्षामा लडेको योजना प्रमुख प्रजापतिले बताए । त्यसको मर्मतका लागि अर्काे ठेक्का लगाइएको र त्यसका लागि १ करोड खर्च भएको थियो । ‘कालीगण्डकी नदी कुन समय कत्रो आउँछ थाहा हुँदैन र ठूलो आउँदा अहिलेको सडकको ठाउँबाटै नदी बग्नसक्ने अवस्था छ’ उनले भने ।

शाखा खोलाले पनि त्यसले बाढी र गेग्रान थुपार्दा पानीमाथि सडकमा आइपुग्ने गरेको भनाइ छ । उनका अनुसार सुरुङ बनाएपछ जस्तोसुकै बाढी आए पनि सडक सधैँ सञ्चालनमा हुनसक्छ । सडकमा बढी क्षति हुने खण्डमा भने सुरुङ निर्माणका लागि तयारी अघि बढाइएको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए । भीरकाटे नदीले सडकको क्षेत्रमा क्षति गर्ने भएकाले सुरुङ निर्माणका लागि अध्ययन भइरहेको छ ।

सो क्षेत्रमा क्षति कम गर्नका लागि सुरुङको योजना बनाइएको हो । अहिले अध्ययनको क्रममा रहेको र त्यो छिट्टै सम्पन्न भएपछि निर्माणका लागि प्रक्रिया अघि बढाइने तयारी छ । उनका अनुसार सो सुरुङ इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एण्ड कस्ट्रक्सन (इपिसी) मोडलमा अघि बढाइने गरी छलफल भइरहेको छ । रासस


Read Previous

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

Read Next

अतिक्रमित संरचनामा धनगढी उपमहानगरको डोजर

Leave a Reply

Your email address will not be published.