Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र


जनकपुरधाम । कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवर्द्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ।

केन्द्रका प्रमुख शंकरप्रसाद साहले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सुविधा पुर्याउन र कृषक तथा कृषि मजदुरलाई उपकरण र कृषियन्त्र वितरण गरिँदै आएको जानकारी दिए। चालु आर्थिक वर्षमा करिब ८० लाख रुपैयाँ बराबरका साना सिँचाइ उपकरण र सोही रकम बराबरका कृषियन्त्र उपलब्ध गराइने बताए। गत कात्तिकमा जारी सूचनाका आधारमा स्थानीय कृषक, कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीबाट प्राप्त प्रस्तावअनुसार एक सय २५ जनालाई सिँचाइ मेसिन र उपकरण वितरण गर्न लागिएको उनले जानकारी दिए।

‘साना किसान तथा कृषक समूहलाई प्रोत्साहन गर्ने गरी ८० प्रतिशतसम्मको अनुदानमा सिँचाइ उपकरण सहयोग गर्न लागेका छौँ,’ साहले भने, ‘यसअन्तर्गत स्यालो टयुबेल, मोटर पम्पसेट जडान तथा इनार निर्माणजस्ता कार्य हुनेछन् ।’ यसअघि सहयोग नपाएका अधिकांश किसानलाई छनोट गरेर सहयोग गर्न लागिएको उनको भनाइ छ।

त्यसैगरी कृषक तथा कृषि मजदुरलाई लक्षित गरी कृषि गतिविधि र कृषिखेतीमा प्रयोग हुने उपकरण प्रदान गर्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए। कृषियन्त्र सहयोगका लागि सार्वजनिक सूचना जारी गरी यही माघ २४ गतेसम्म प्रस्ताव सङ्कलन कार्य हुने उनले बताए।

कार्यालय प्रमुख साहले पनि यसरी उपलब्ध हुने उपकरणले किसानलाई कृषिको आधुनिकीकरणमार्फत व्यवसाय अभिवृद्धि र स्वरोजगार वृद्धिमा सघाउ पुग्ने अपेक्षा छ। अहिलेसम्म सहयोग नपाएका कृषकलाई प्राथमिकतामा राखी कृषि गतिविधि र कृषिकार्यमा प्रयोग हुने मिनीटिलर, पावर टिलरलगायत उपकरण ७५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराइने भएको छ।

एक लाख १९ हजार हेक्टर भू–उपयोग क्षेत्रफल रहेको धनुषामा ७६ हजार पाँच सय ३१ हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये ३५ हजार एक सय २८ हेक्टर सिञ्चित जमिन छ। बाँकी क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले यहाँ हरेक वर्ष कृषि ज्ञान केन्द्रलगायत निकायले उपकरण र कृषिको आधुनिकीकरण गरी व्यवसायीकरणका लागि कृषियन्त्र उपलब्ध गराउँदै आएका छन्।

‘हामीले हरेक वर्ष लाखौँका कृषियन्त्र तथा उपकरण उपलब्ध गराउँदै आएका छौँ, तर त्यसको उपयोगिता के भइरहेको छ ? वास्तविक किसानले लाभ पाइरहेका छन् कि छैनन् भनेर हेर्नुपर्ने आवश्यकता छ,’ साहले भने, ‘हाम्रो अनुगमन संयन्त्रका अलवा स्थानीय समूह तथा सरोकारवालाले पनि गम्भीर चासो र निगरानी गर्नुपर्ने जरुरी छ। त्यसो गरेमा वास्तविक व्यक्ति तथा समूहले लाभ पाउँछन्।’ वास्तविक किसानभन्दा अरुले नै लाभ लिइरहेको विषयमा देशभरि नै गुनासो सुनिने गरेको उल्लेख गर्दै उनले धनुषामा पनि प्राप्त सहयोगको उचित उपयोग गरी अधिकतम् लाभ लिने कुरामा लक्षित व्यक्ति तथा समूहलाई गम्भीर बन्न आग्रह गरे।


Read Previous

सवारी प्रदुषण, सवारी सुरक्षा र दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न मन्त्रालयले गठन गर्याे सात सदस्यीय कार्यदल

Read Next

३७ वर्ष पुरानो कालिकोटको सुनथराली विमानस्थल कालोपत्र गरिँदै

Leave a Reply

Your email address will not be published.