Nepal Purbadhar

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

सोमवार, अशोज ८, २०८०
Monday, September 25, 2023

३० वर्षकाे विद्युत माग प्रक्षेपण गरी तारकेश्वरमा उच्च क्षमताको सबस्टेसन निर्माण गरिँदै


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीकाे गुणस्तर सुधार गर्न उच्च क्षमताकाे सबस्टेसन निर्माण गर्ने भएकाे छ । प्राधिकरणले आगामी ३० वर्षसम्मकाे विद्युत माग प्रक्षेपण गरी आपूर्ति व्यवस्थापन मिलाउन काठमाडाैंकाे तारकेश्वरमा २२०/१३२/६६/११ केभी क्षमताकाे सबस्टेसन निर्माण गर्न लागेकाे हाे ।

सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न आवश्यक प्रक्रिया अघि बढाइएकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार काठमाडौं उपत्यकाकाे विद्युत माग र आपूर्ति व्यवस्थापन गरी गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन  प्रसारण प्रणालीकाे  ‘रिङ सर्किट’ निर्माण गरिने छ ।

प्राधिकरणले यसअघि नै उपत्यकाभित्रका नदी खाेला किनारमा १३२ केभी क्षमताकाे प्रसारण काेरिडाेर निर्माण गर्ने घाेषणा गरिसकेकाे छ । सोही क्रममा काठमाडौं उपत्यका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो तथा गुणस्तरीय विद्युत प्रवाहका लागि नयाँ सबस्टेसन निर्माण गर्न लागिएको हो।

याे सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याउँदा वितरण प्रणालीकाे भाेल्टेजमा सुधार भइ जथाभावी ट्रिपिङ हुने समस्याकाे दीर्घकालीन समाधान हुने प्राधिकरणले जनाएकाे छ । प्रसारण प्रणाली सुधारका लागि दीर्घकालीन याेजना बनाएर काम नगर्ने हाे भने उपत्यकामा फाेर्स लाेडसेडिङ गर्नुपर्ने अवस्था आउने प्राधिकरणले बताउँदै आएकाे छ ।

उपत्यकाभित्रकाे वितरण प्रणाली सन्तुलित राख्न ६६ केभीदेखि २२० केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेसन निर्माण गर्नुपर्ने प्राधिकरणको भनाइ छ। साथै, अहिले सञ्चालनमा रहेका प्रसारण लाइन तथा सवस्टेसनकाे पनि संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने  कार्य पनि तीव्र गतिमा अगाडि बढाएकाे प्राधिकरणले जानकारी दिएकाे छ।

तारकेश्वरमा निर्माण हुने सबस्टेसनका लागि ६१ परिवारकाे जग्गा अधिग्रहरण गर्नु पर्ने अध्ययनमा देखिएकाे छ । प्राधिकरणले सबस्टेसनका लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ मा भएकाे व्यवस्था अनुसार जग्गा अधिग्रहण गरी जग्गा धनीलाई मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने छ ।


Read Previous

‘पूर्वाधार र आर्थिक विकासका सबै क्षेत्रमा नेपाल र भारतबीच बलियो सम्बन्ध’

Read Next

इलाममा सिसाको पुलसहितको साइकल ट्रयाक निर्माण कार्यको थालनी

Leave a Reply

Your email address will not be published.