Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बाँके नरैनापुरका स्थानीय अझै विद्युत पहुँच बाहिर


नेपालगञ्ज । विकासका पूर्वाधारबाट पछि परेकाे बाँकेकाे नरैनापुर गाउँपालिकाका केही गाउँमा अझै राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न सकेकाे छैन । विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार नहुँदा गाउँपालिकामा विद्युतीकरण हुन नसकेकाे हाे ।

गाउँपालिकाको बनियाँ गाउँलगायतमा विद्युतीकरण नहुँदा स्थानीय अध्याँरोमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए । “धेरै ठाउँमा विद्युतीकरण भएको छ तर केही ठाउँ बाँकी छ”, उनले भने , “पालिकाको वडा नं ३ को रतैया, वडा नम्बर १ को कटकुइँया, मझेरिटीलगायतका स्थानमा विद्युत्को पहुँच छैन ।

लुम्बिनी प्रदेससभाका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमुना’ ले नरैनापुरको दुर्गम बस्तीमा विद्युतीकरणका लागि चासो देखाएर विद्युतीकरणको पहल गरेका छन् । गाउँपालिका अध्यक्ष शाहकाे पहलमा प्रदेशसभा सदस्य केसीले आफ्नो चुनावी क्षेत्रका केही दुर्गम बस्तीमा देखिएको विद्युतकाे अभावबारे अनुगमन गरेर जानकारी लिएका छन् ।

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख सुरज गौतमसहित प्राविधिक टोली विद्युत नपुगेको बस्तीको अनुगमन गरी फर्किएको छ । गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको बनियाँ गाउँमा हालसम्म बिजुली नपुगेकाले तत्काल विद्युत पुर्याउन गौतमसँग आग्रह गरेको बताए ।

गाउँपालिकाले थप विद्युत विस्तारका लागि १ हजार ५०० विद्युतीय पाेल  तथा तारको व्यवस्था गर्न माग गरेकाे छ । अध्यक्ष शाहले विद्युत सेवा पुग्नु आफ्नो र नरैनापुरवासीका लागि खुसीको कुरा भएको उल्लेख गरे ।

अब सिँचाइका लागि विद्युत् विस्तार गर्न जरुरी भएको उनले बताए । प्रदेशसभा सदस्य केसीले नरैनापुरको अन्य गाउँमा छ महिनाभित्रै बत्ती बाल्ने प्रतिबद्धता गर्दै अबको विकास नरैनापुरबाट सुरु हुने बताए ।

उनले नरैनापुर सर्वोपरि विकासका लागि आवश्यक सम्भावनाको खोजीगरी आर्थिक उपार्जनको बाटोमा डोर्याउन आफू प्रतिबद्ध रहेको जिकिर गर्दै कृषिलाई आर्थिक विकासमा जोडेर स्थानीय उत्पादनको सहज बजारीकरणका लागि पहल गर्ने उल्लेख गरे । प्राधिकरणकाे प्रादेशिक कार्यालय प्रमुख गौतमले नरैनापुरमा ६० प्रतिशत विद्युत विस्तार भइसकेकाले बाँकी काम छिटो सम्पन्न हुने जानकारी दिए ।


Read Previous

पश्चिम सेती निर्माण हुनेमा विश्वस्त छैनन् स्थानीयवासी

Read Next

चितवनमा इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा तिर्न गरे ढिलाई

Leave a Reply

Your email address will not be published.