Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सोलार मिनिग्रिड परियोजनामार्फत बत्ती बलेपछि गाउँ झिलिमिली


डोटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठूलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले सौर्य घरेलु प्रणालीको प्रयोग गरेको भए पनि अधिकांश घरपरिवारले उज्योलोको लागि झरो (सल्लाको काठ) मा नै निर्भर थिए ।

जिल्लाको अति विकट मानिने यो ठाउँ पुग्न सदरमुकामबाट जीपमा एक दिन पूरै यात्रा गर्नुपर्छ । भर्खरै कच्ची सडक निर्माण भएकाले वर्षायाममा जीप चल्न सक्दैन ।केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्न अझै केही वर्ष लाग्ने भएकाले यहाँका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र ऊर्जाको अन्य आधारभूत आवश्यकता पूरा गर्न सोलार मिनिग्रिडबाट विद्युत् आपूर्तिको प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्द बताउँछन ।

यहाँबाट प्रष्ट देख्न सकिने अछामको सदरमुकाम मङ्गलसेन र सुर्खेतमा राति झिलिमिली बत्ती बलेका देख्दा हाम्रो गाउँमा कहिले यसरी उज्यालो होला भन्ने आशामा नै धेरै पुस्ताले जीवन बित्यो । सुदूरपश्चिम प्रदेश सरकारको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत आर्थिक सहयोग तथा जर्मन सहयोग नियोग (जिआइजेड)को नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम (रिप) को प्राविधिक सहयोग गरी करिब २ करोड २० लाख रूपैयाँकाे लागतमा हालै सोलार मिनिग्रिड परियोजना सम्पन्न भएपछि वषौँदेखि उज्यालोमा बस्ने उनीहरुको सपना साकार भएको हो ।

अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न थालेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोेबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न पाउँदा उनीहरु दङ्ग छन् । रातको समयमा हुने चोरी डकैतीबाट पनि सुरक्षित राख्न सकिएको स्थानीयवासी नरबहादुर बोहरा बताउँछन ।

‘विकासको अवसरबाट ठगिँदै आएका हामीहरु अहिले विद्युत् सुविधा पाएसँगै धेरै कुरा पाएको अनुभव गर्दैछौँ’ उनले भने । साविकका सिमचौर, केदार अखडा, कानाचौर, सातफरी, धिर्कामाडाैं गगुडा र चवराचौतारा गाविसलाई समेटेर २०७३ वैशाख ३ गते गाउँपालिका घोषणा गरिएको हो ।

पालिका–१ र २ का बासिन्दाले वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबाट निर्मित लघु जलविद्युत्बाट उत्पादित विद्युत् उपयोग गर्न पाएका छन् भने अन्य वडामा अझै विद्युत्को पहुँच पुग्न सकेको छैन । वडा नं २ को गराजु गाउँ यस गाउँपालिकाको झनै दुर्गम बस्ती हो । यस गाउँमा ८३ घरपरिवार बसोबास गर्दछन् ।

झरो बाल्दा निस्कने धुवाँका कारण यहाँका अधिकांश महिला तथा बालबालिकामा श्वासप्रश्वासम्बन्धी समस्या रहेको छ । ‘अब धुवाँको समस्या पनि समाधान हुने भयो ‘ उनले भने।

उज्यालोका लागि सल्लाको दाउरा खोज्न जङ्गल जानुपर्ने बाध्यता पनि अन्त्य भएकाे छ । यहाँका बासिन्दाको आम्दानीको स्रोत भनेकै परम्परागत कृषि तथा ज्याला मजदूरी नै हो । गरिबी र अशिक्षाका कारण आर्थिक अवस्था निकै कमजोर रहेको उनीहरुको जीवनस्तरमा विद्युतीकरणपछि सुधार आउने अपेक्षा गरिएको छ ।

सोलार मिनिग्रिड उपभोक्ता समितिका सचिव पारस खडका भन्छन्, ‘केन्द्रीय प्रशारण लाइनका लागि हामीले कति वर्ष कुर्नुपर्ने अवस्था थियो तर सौर्य मिनिग्रिडले त्यो अवस्थाको अन्त्य गरिदियो । यति छिट्टै गाउँमा झिलिमिली हुँदा गाउँलेहरु हर्षित भएका छन् ।’

छिट्टै गाउँमा कुटानीपिसानीको मिल स्थापना गरी महिलाको कार्यबोझ कम गर्न लागिएको उनको भनाइ छ । विद्युत् सुविधा भएपछि ससाना उद्योगधन्दा र व्यवसाय सञ्चालन गर्न उद्यमशीलतासम्बन्धी तालिम र पुँजीको प्रबन्ध भए कामको खोजीमा भारतलगायत अन्यत्र जाने युवालाई गाउँमै स्वरोजगार गराउन सकिने उहाँ बताउछन् । रासस


Read Previous

नारायणगढ–मुग्लिङ सडकः आजदेखि दैनिक ४ घण्टा बन्द

Read Next

अहिलेसम्म ११ अर्ब १६ करोडको विद्युत निर्यात, यस वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी हुने

Leave a Reply

Your email address will not be published.