Nepal Purbadhar

सुपरमाई प्रभावितका लागि सेयर बिक्री खुल्यो,वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता


काठमाडौं । सुरपमाई हाइड्रोपावर कम्पनीले इलामबासी र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले बुधबारबाट इलाममा सञ्चालित ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र विदेशमा बस्ने नेपालीका लागि साधारण सेयर बिक्री खुल्ला गरेको हो ।

इलामबासीका लागि कूल स्वपुँजी लगानीको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण सेयर बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ लाख कित्ताको ४० प्रतिशत हुन आउने २ लाख कित्ता सेयर आयोजनाबाट अति प्रभावित इलाम नगरपालिकाका वडा नम्बर २ (सुम्बेक) र वडा नम्बर ५ (बरबोटे) तथा जोगमाई गाउँपालिकाको वडा नम्बर ५ (सोयाङ्ग) का स्थानीयबासीका लागि मात्र बिक्री खुल्ला गरिएको छ ।  स्थानीय सेयरको बाँकी ६० प्रतिशत हुन आउने ३ लाख कित्ता सम्पूर्ण इलामबासीका लागि बिक्री खुल्ला गरिएको छ ।

यस्तै, बुधबारबाटै सर्वसाधारणका लागि छुट्याइएको स्वपुँजी लगानीको १० प्रतिशत (५ लाख कित्ता) सेयरमध्येबाट ५० हजार कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा विश्वका विभिन्न मुलुकमा गएका नेपाली नागरिकका लागि पनि सेयर बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

इलामबासी तथा वैदेशिक रोजगारीका गएका नेपालीले न्युनतम १० देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयबासीका लागि सेयर आवेदन दिनका छिटोमा पुस ६ गतेसम्मको म्याद राखिएको छ ।

यो अवधिमा निष्कासन भएको स्थानीयबासीको हिस्साको सेयर सबै बिक्री हुन नसकेमा ढिलोमा पुस २१ गतेसम्म आवेदन खुल्ला रहने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीले भने छिटोमा पुस ६ गतेभित्र सेयर आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीले निर्माण गरेको सुपरमाई आयोजनाले २०७५ साल कात्तिक ११ गतेदेखि व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । यो आयोजनाको उत्पादन अनुमतिपत्रको अवधि अब २९ वर्ष ६ महिना बाँकी छ ।

यो आयोजना निर्माण गर्दा १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ खर्च भएको थियो । आयोजना निर्धारित समयभन्दा २२ महिना पहिले नै सम्पन्न गरिएको थियो । आयोजना निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्न अधिकतम ७ वर्षसम्म लाग्ने कम्पनीले जनाएको छ ।


Read Previous

पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव

Read Next

डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी