Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४५ र सुरुङ खन्ने काम ६७ प्रतिशत सकियाे


काठमाडौं । नागढुंगा सुरुङमार्गको समग्र कामको प्रगति ४५ प्रतिशत सम्पन्न भएको छ । यो आइतबार (२२ कात्तिक) सम्मको प्रगति हो ।

आयोजना अन्तर्गत सुरुङ निर्माणको प्रगति भने ६७ दशमलव ३० प्रतिशत पूरा भएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।

यसअघि भदौ २६ मा सुरुङ निर्माणको प्रगति ६० प्रतिशत थियो । त्यस्तै, आयोजनाको कुल प्रगति भने ४२ प्रतिशत थियो । आयोजनाको कुल वित्तीय प्रगति भने ४८ दशमलव ८३ प्रतिशत पुगेको छ । भदौमा ४७ मात्र वित्तीय प्रगति थियो ।

काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर मध्ये १ हजार ६४२ मिटर सम्पन्न भएको छ । त्यस्तै, निर्माणाधीन नागढुंगा सुरुङमार्गको अडिट र मुख्य सुरुङ गरी कुल ५ हजार चार सय ९९ मिटर लम्बाइको सुरुङमार्ग खन्नुपर्नेछ । त्यसमध्ये २२ कात्तिकसम्म ३ हजार ७०२ मिटर सम्पन्न भएको छ ।

इभ्याकुएसन सुरुङ कुल २ हजार ५ सय ५७ मध्ये १ हजार ८६० र क्रस प्यासेज कुल एक सय २८ मिटरमध्ये ७४ मिटर खनिएको छ । वर्किङ अडिट एक सय २६ मिटरमा पूरै सम्पन्न भइसकेको छ । खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार ८३४ र धादिङतर्फ १ हजार ८६८ मिटर खनिएको छ ।

कुन संरचनामा कति प्रगति ?

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३ वटै सम्पन्न भइसकेको छ । त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ ।

आयोजना कार्यालयका अनुसार अहिलेसम्म ८० प्रतिशत जग्गाको मुआब्जा दिने काम सकिएको छ । फ्लाई ओभरको दुई वटा फाउण्डेशन निर्माण र एउटा सबस्ट्रक्चर सम्पन्न भएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा ११ वटा पूरा भइसकेका छन् ।

आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । थालनीमा २० अर्ब ६० करोड रुपैयाँ हुने अनुमान थियो । तर, जापानिज येन बलियो भएका कारण जग्गा प्राप्तिमा भएको खर्च बढेर २२ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।


Read Previous

रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

Read Next

तिब्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य १ घण्टे सचेतना कक्षा लिनुपर्ने

Leave a Reply

Your email address will not be published.