Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

‘हामी ७ महिनामा हरित हाइड्रोजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याउन सक्षम छौं’


सन्दिप अग्रवाल भारतको दिल्लीस्थित परामर्शदाता ग्रीनजो इनर्जी प्रालिका संस्थापक अध्यक्ष हुन् । उनी आबद्ध यो कम्पनीले पछिल्लो २ दशकदेखि भारत, म्यानमार, भियतनाम, नेपाललगायत विभिन्न देशमा नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्दै आइरहेको छ । पछिल्लो पटक हरित हाइड्रोजन उत्पादनको क्षेत्रमा पनि काम गर्न कम्पनीले सक्रियता देखाएको छ । भारतको महाराष्ट्रमा हरित हाइड्रोजन प्लान्टमा जडान हुने इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया कम्पनीले अगाडि बढाएको छ । यो कम्पनीले नेपालमा समेत हरित हाइड्रोजन उद्योग स्थापना गर्न अपि पावर कम्पनीसँग सझदारी गरेको छ ।

आइआइटी रुर्कीबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका अग्रवाल कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक समेत हुन् । उनको यो कम्पनीले  इपिसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन) कन्ट्र्याक्टमा सौर्य विद्युत आयोजना निर्धारित लागत र समयमा निर्माण सम्पन्न गरी प्रवर्द्धकलाई हस्तान्तरण गरेको छ । अग्रवालसँग नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन उत्पादनलगायत विविध विषयमा नेपाल पूर्वाधार डटकमले गरेको कुराकानीको संक्षिप्त सार:

सरकारले मिश्रित ऊर्जाको अवधारणाअनुरुप सौर्य ऊर्जाको व्यापारिक उत्पादनका लागि निजी क्षेत्रलाई अनुमति दिन थालेसँगै नेपालमा आएर काम गरिरहनु भएको छ । यहाँको रोजाइमा नेपाल नै किन पर्यो ?

नेपाल जलविद्युत उत्पादनको प्रसस्त सम्भावना भएको मुलुक हो । तर, यहाँको विद्युत वितरण प्रणालीको गुणस्तर सन्तुलिन राख्न एसि-डिसी सौर्य ऊर्जा प्रणालीकाे विद्युत पनि महत्त्वपूर्ण हुन जान्छ । जलविद्युत सरह नै नेपालमा सौर्य र जैविक ऊर्जाको स्रोतबाट विद्युत उत्पादनको उत्तिकै सम्भावना देखेर नै सौर्य ऊर्जामा हाम्रो ध्यानाकर्षण भएको हो । यहाँको सरकारले पनि मिश्रित ऊर्जाको अवधारणा अघि सारेर सौर्य ऊर्जाको व्यापारिक उत्पादनका लागि अनुमति दिएर लगानीकर्तालाई आह्वान गर्यो । र, हामी यहाँ काम गर्न आइपुग्यौं । हाम्रा लागि पनि सौर्य ऊर्जाकाे क्षेत्रमा काम गर्न नेपाल उर्भर भूमि हो ।

नेपालमा अहिलेसम्ममा कति सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरिसक्नु भयो ?

सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रले लगानी गर्न सुरु गरेपछि नै हाम्रो कम्पनीले नेपालमा आएर काम गरिरहेको छ । निर्धारित तालिका र लागतको दायराभित्र रहेर सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गर्न सक्नु नै हाम्रो कम्पनीको मुख्य विशेषता हो । हामीले निर्माण थालेको १६ महिनाभित्र इपिसी कन्ट्र्याक्ट पाएका ४ सौर्य विद्युत आयोजना सफल निर्माण गरी प्रवर्द्धक कम्पनीलाई हस्तान्नरण गरेका छौं । कोभिड–१९ महामारीकाबीच पनि काम जारी राखेर ताेकिएकाे तालिका बमाेजिम सौर्य विद्युत आयोजना सम्पन्न गरेका छौं ।

अब कति सौर्य विद्युत आयोजना निर्माणमा जान तयारी अवस्थामा छन् ?

विराटनगरमा भर्खरै मात्र ६.१ मेगावाटको एउटा सौर्य विद्युत आयोजनाको निर्माण सुरु गरेका छौं । यो आयोजना पनि काम थालेको ६ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यो बाहेक अन्य १० वटा नयाँ सौर्य विद्युत आयोजना निर्माणमा जानका लागि पाइप लाइनमा छन् ।

तपाईंको कम्पनीले कुन मोडालिटी अनुसार नेपालमा सौर्य विद्युत आयोजनामा काम गरिरहेको छ ?

हामीले नेपालमा काम गरेका अधिकांश सौर्य विद्युत आयोजना इपिसी कन्ट्र्याक्टमा ठेक्का पाएका छौं । यो मोडलमा आयोजना बनाउँदा निर्धारित समय र लागतमा नै सम्पन्न गर्नुपर्ने चुनौती रहने गर्दछ । हामीले इपिसी कन्ट्र्याक्टअनुसार सौर्य ऊर्जाको क्षेत्रमा लगानी गर्न भारतका बैंकहरूको सहयोगमा वित्तीय स्रोतहरू जुटाएका छौं । यसबाहेक प्रवर्द्धककोतर्फबाट पनि स्थानीय बैंक तथा वित्तीय संस्थाबाट सौर्य विद्युत आयोजनाका लागि लगानी जुटाइएको छ ।

कुशल प्रोजेक्टस् नेपालले निर्माण ठेक्का लिएका सौर्य विद्युत आयोजना समयमै सम्पन्न भएका छन् । यो कसरी सम्भव भएको हो ?

जति चाँडो काम सम्पन्न गर्न सक्यो, हाम्रा लागि त्यति नै फाइदाजनक हुन्छ । हामीसँग काम गर्ने दक्ष जनशक्ति छ । भारत, बेलायतलगायत देशका विज्ञको सल्लाहअनुसार सौर्य विद्युत आयोजनाको डिजाइन तयार गर्नुका साथै उनीहरूबाट नै सुपरिवेक्षण गराउने गरेका छौं ।

नेपालकै इन्जिनियरिङ क्याम्पसमा अधययन गरेका उत्कृष्ट इन्जिनियर कम्पनीमा  नियुक्त गरेका छौं । हामीले त्यसबाहेक आयोजना स्थल भएको क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई पनि सौर्य विद्युत आयोजनाकाे काम लगाएका छौं । उनीहरूलाई प्रशिक्षण दिएका छौं । २ सय बढी स्थानीय कामदारलाई रोजगारीको अवसर दिएका छौं । स्थानीयको सहयोगको कारणले नै हाम्रा आयोजना समयमा सम्पन्न गर्न सम्भव हुने गरेको छ ।

सौर्य विद्युत आयोजनाको विद्युतको खरिद दर अधिकम प्रतियुनिट ५.९४ रुपैयाँमा प्रतिस्पर्धा गराउने नीति लिइएको छ । यो दरमा सौर्य ऊर्जामा लगानी गर्दा नाफा आर्जन गर्न सम्भव देखिन्छ त ?

प्रतियुनिट ७.३० रुपैयाँमा सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) हुँदासम्म नाफा आर्जन गर्न सकिने अवस्था थियो । पछिल्लो पटक तोकिएको प्रतियुनिट ५.९४ रुपैयाँ दरमा विद्युत उत्पादन गरेर बिक्री गर्न सौर्य ऊर्जामा लगानी गर्दा नेपालको सन्दर्भमा त्यति नाफामुखी नहुन सक्छ । त्यसकारण पनि मैले सौर्य विद्युत आयोजनाले उत्पादन गर्ने विद्युत हरित हाइड्रोजन उत्पादनमा उपयोग गर्नतर्फ लाग्नु पर्छ भनेर मैले भन्दै आएको छु । सौर्य ऊर्जामा लगानी गरेर विद्युत प्राधिकरणलाई प्रतियुनिट ५.९४ रुपैयाँमा बिक्री गर्नुभन्दा यो विद्युत हरित हाइड्रोजन तथा हरित अमोनिया उत्पादन गर्न म सुझाव दिन्छु । हरित हाइड्रोजन र अमोनिया उत्पादन गर्न सकियो भने उद्योगहरूले नै प्रतियुनिट ११ रुपैयाँ बराबरको प्रतिफल हाम्रा सौर्य विद्युत आयोजनालाई दिनेछन् ।

नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भावनाबारे अध्ययन तथा बहसहरू हुने थालेका छन् । यही बेला जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्दै आएको अपि पावर कम्पनीले पनि ५० मेगावाटको हरित हाइड्रोजन तथा अमोनिया प्लान्ट स्थापना गर्नभन्दै ग्रीनजोसँग समझदारी गरेको छ । अहिले यो प्रक्रिया कहाँ पुगेको छ ?

हामीले अपि पावरले लगानी गरेका धेरै सौर्य विद्युत आयोजनामा सहकार्य गरेका छौं । यो कम्पनीले दार्चुलामा साढे १६ मेगावाटका २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको छ । सुरुवातमा यीनै आयोजनाको विद्युत तथा विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग हुने गरी सुरुवातमा १ मेगावाट र सन् २०२५ भित्रमा ५० मेगावाटकाे प्लान्ट निर्माण गर्ने गरी अपि पावरसँग समझदारी भएको हो ।

अब त्यसको कार्यान्वयनका लागि सम्झौता हुने चरणमा छ । हामी अपि पावरसँग सम्झौताका लागि पालो कुरिरहेका छौं । हरित हाइड्रोजन र अमोनिया उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि प्रविधि तयार छ । उपकरण तयार छ । यदि परिस्थित हामीले योजना गरेअनुसार बन्यो भने सम्झौता गरेको मितिले ७ महिनाभित्रमा हरित हाइड्रोजन तथा अमोनिया प्लान्ट स्थापना गर्न सकिन्छ भनेर म दाबीका साथ भन्न सक्छु ।

अहिले धेरैले हरित हाइड्रोजन उत्पादनमा चासो देखाउन सुरु गरेका छन् । हालै सम्पन्न पहिलो हरित हाइड्रोजन सम्मेलनमा पनि यसबारेमा छलफल र बहस भयो । सम्मेलनमा सहभागीहरूले विज्ञहरूले हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न ३ वर्ष लाग्ने धारणा राखेका थिए । एउटा प्लान्ट निर्माण गर्न यति नै समय लाग्ने हो त ?

हरित हाइड्रोजन प्लान्ट निर्माण गर्न ३ वर्षको समय लाग्दैन । सबै प्रक्रिया पूरा गरेर काम सुरु गरेको ७ महिनामा प्लान्ट निर्माण सम्पन्न गर्न सकिन्छ । हामीले भारतमा गरिरहेको यही कामका आधारमा म दाबीका साथ भनिरहेको छु । हामीले भारतमा धेरै वर्षदेखि हाइड्रोजन उत्पादनको क्षेत्रमा काम गरिरहेका छौं । हाइड्रोजन के हो ? यसले कसरी काम गर्छ भन्नेबारेमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता नरहेकाले पनि प्रविधि र आवश्यक उपकरण उपलब्ध हुँदा काम सुरु गरेको बढीमा ७ महिनामा सम्पन्न गरेर सञ्चालन गर्न सकिन्छ ।

अपिपछि नेपालका कुनै लगानीकर्ता हरित हाइड्रोजनमा लगानी गर्न चासो देखाउँदै तपाईंको कम्पनीकाे सम्पर्कमा आएका छन् ?

विशेष गरी नेपालको विद्युत नियमन आयोगले सौर्य विद्युत आयोजनामको विद्युतको पिपिएको अधिकतम प्रतिस्पर्धी दर ५.९४ रुपैयाँ कायम गरेपछि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्नुभन्दा हरित हाइड्रोजन उत्पादन गर्नतर्फ केही निजी प्रवर्द्धकहरू इच्छुक देखिनु भएको छ । उहाँहरू हाम्रो कम्पनीको सम्पर्कमा पनि आउनु भएको छ । हरित हाइड्रोजन नेपालका लागि नयाँ विषय भएकाले समेत एकै पटक लगानीका लागि आउनुभन्दा पहिले केही बुझ्नतर्फ उहाँहरू लागि रहनुभएको छ ।

तपाईँसँग नवीकरणीय ऊर्जाको क्षेत्रमा भारतमा काम गरेको लामो अनुभव छ । केही वर्षदेखि नेपालमा पनि सक्रियरूपले यो क्षेत्रमा काम गरिरहनुभएको छ । काम गर्न कता बढी सहज पाउनुभयाे ?

नेपाल र भारतमा काम गर्ने वातावरण उस्तै–उस्तै छ । खासै भिन्नता छैन । दुवैतर्फ लगानीमैत्री वातावरण छ । नेपाल र भारतबीच शिक्षा, स्वास्थ्य, जलस्रोत, ऊर्जा एवं सामुदायिक विकासमा सहकार्य हुँदै आएको छ । खुला सीमाना, स्वतन्त्र आवत–जावतमा सहजता, सांस्कृतिक समानता तथा भाषामा सहजता भएकाले पनि नेपालमा हामीलाई काम गर्न सजिलो नै भइरहेको छ ।

ग्रीनजोले भारतमा दैनिक २५० मेगावाट विद्युत उपयाेग हुने इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योग स्थापना गर्न लागेको खबर सञ्चार माध्यममा आएको थियो । अहिले यसको प्रगति कुन चरणमा पुग्यो ?

भारतको महाराष्ट्रमा इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योग स्थापना गर्न त्यहाँको सरकारले हामीलाई अनुमति दिएको छ । यो उद्योगले हरित हाइड्रोजन उत्पादन गर्नका लागि पानीलाई हाइड्रोजन र अक्सिजनमा टुक्राउन आवश्यक इलेक्ट्रोलाइजर उपकरण उत्पादन गर्नेछ ।

यो हाम्रा लागि ठूलो अवसर हो । भारत सरकारले आफ्नो ‘इन्भेष्ट इन्डिया कार्यक्रम’ अन्तर्गत हरित इलेक्ट्रोलाइजर उद्योग स्थापना गर्ने अनुमति दिएको छ । उद्योग स्थापना गर्ने प्रक्रिया धेरै अगाडि बढिसकेको छ । सन् २०२३ को अन्त्यतिरबाट इलेक्ट्रोलाइजर उत्पादन गर्न सुरु गर्ने हाम्रो लक्ष्य छ । उद्योग स्थापना गर्न करिब साढे ६ अर्ब नेरु लगानी आवश्यक पर्नेछ ।

अहिले विश्वमा इलेक्ट्रोलाइजर उत्पादन गर्ने उद्योगहरू ७ वटा मात्रै भएकाले पनि यस क्षेत्रका लागि यो उद्योग केसेढुंगा सावित हुनेमा म विश्वस्त छु । हाम्रो उद्योगले नेपाल, भारत, बंगालादेशलगायतका देशको माग पूरा गर्न सकिनेछ ।


Read Previous

भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   

Read Next

नाेराडका महानिर्देशकद्वारा केयुकाे भ्रमण

Leave a Reply

Your email address will not be published.