
काठमाडौं । सरकारले ठूला जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यसहित स्थापना गरेको विद्युत उत्पादन कम्पनी लिमिटेड (भियुसीएल) सात महिनादेखि निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भरमा चलिरहेको छ ।
तत्कालीन सीईओ बखत बहादुर शाहीले राजीनामा दिएपछि गत असोज २७ गतेदेखि १०औँ तहका हिरामान वाइबालाई पदपूर्ति नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिइएको थियो। तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको निर्णयअनुसार वाइबाले जिम्मेवारी सम्हालेको करिब सात महिना पुगिसकेको छ । तर, अहिलेसम्म स्थायी सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन।
सरकार परिवर्तन भएर देश राजनीतिक स्थिरता गएपनि कम्पनी नेतृत्व चयनमा ढिलाइ हुँदा संस्था लामो समयदेखि ‘अस्थायी व्यवस्थापन’ मै सीमित भएको छ । कम्पनीभित्रका कर्मचारीहरूले भने सीईओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने माग गर्दै आएका छन् ।
उनीहरूका अनुसार ठूला परियोजना बोकेर पनि कार्यान्वयनमा कमजोर देखिएको संस्थालाई सक्षम नेतृत्वमार्फत गति दिनुपर्ने आवश्यकता छ।
हाल कम्पनीले ४८० मेगावाटको फुकोट कर्णाली, ४५४ मेगावाटको किमाथांका–अरुण, १९०२ मेगावाटको मुगु कर्णाली र ३० मेगावाटको दुल्लु मालिका सोलार परियोजना प्रवर्द्धन गरिरहेको छ।
सरकारले ऊर्जा संकट समाधानका लागि ठूला जलविद्युत आयोजना अघि बढाउने लक्ष्यसहित कम्पनी स्थापना गरेको भए पनि अधिकांश परियोजनाको विस्तृत अध्ययन सम्पन्न भए पनि निर्माण चरणमा प्रवेश गर्न सकेका छैनन् ।
विशेषगरी फुकोट कर्णाली जलविद्युत आयोजना भने भारतीय कम्पनी एनएचपीसीसँग सहकार्यमा निर्माण गर्ने सहमति भइसकेको छ।
तर, नेतृत्व स्पष्ट नहुँदा निर्णय प्रक्रिया ढिलो हुने, परियोजना कार्यान्वयन प्रभावित हुने र संस्थागत गति कमजोर हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गर्दै आएका छन् ।
