Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

भाेजपुरका ५० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच   


भाेजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा ५०.३३ प्रतिशत विद्युतीकरण भएकाे छ ।  नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच बढाउँदै लगेकाे हाे ।

जिल्लामा ५० प्रतिशत बढी विद्युतीकरण भए पनि अझै ठूलाे जनसंख्या राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँचभन्दा बाहिर छ । पहिलाे पटक २०६७ साल कात्तिक १९ गते  प्राधिकरणले ३३ केभी हिले-भोजपुर प्रसारण लाइन सञ्चालनमा आएसँगै भोजपुरमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे थियाे ।

सबैभन्दा बढी जिल्लाकाे टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । यो प्रदेश–१ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो । दोस्रोमा केन्द्रीय प्रसारण लाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ ।

हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको प्राधिकरण भाेजपुर वितरण केन्द्रले जनाएकाे छ । प्राधिकरणले सबै स्थानीय तहमा विद्युत पहुँच पुर्याउने भन्दै आएपछि पूर्णरूपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन ।

याे जिल्लामा निजी लगानीका जलविद्युत आयाेजनामा पनि निर्माण सम्पन्न भइ सञ्चालनमा आइरहेका छन् । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुलाखोला हाइड्रोपावर कम्पनीले ५ मेगावाट र ८ मेगावाटका २ जलविद्युत आयाेजना निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा याेगदान गरिरहेकाे वितरण केन्द्रले जनाएकाे छ । यी बाहेक पनि धेरै जलविद्युत आयाेजना जिल्लामा अघि बढेका छन् ।

भाेजपुरबासीले विद्युत सेवाको उपभोग गर्न पाएको करिब ४१ वर्ष पुगिसकेकाे छ । सर्वप्रथम २०३८ सालमा सिक्तेलखोला जलविद्यद्युत आयोजनाबाट उत्पादन भएको विद्युत् जिल्ला सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए ।

२ सय ५० किलोवाट क्षमताको उक्त जलविद्युतगृहले उत्पादन गर्ने विद्युतले सदरमुकामकाे माग व्यवस्थापन हुँदै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युतगृह द्वन्द्व कालमा  बिग्रिएपछि भने लामो समय भोजपुर अन्धकारमय बन्न पुगेकाे थियो ।

समस्याग्रस्त लघुजलविद्युत केन्द्र मर्मत गरेर सञ्चालनमा ल्याइए पनि विद्युतकाे माग धान्न नसकेपछि जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत सेवा विस्तारको पहल थलिएको हो ।

जलविद्युत् आयोजना संरक्षणबिहीन

संरक्षणको अभावमा जीर्ण बनेकोे सिक्तेलखोला लघु जलविद्युत आयोजनाको संरक्षणमा सम्बन्धित निकायकाे ध्यान गएको देखिँदैन । बिग्रिएको करिब १४ वर्ष बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत साम्रगी कबाडीमा परिणत भएका छन् ।

जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँहरूमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हुँदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन । सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्युतगृहमा क्षति पुगेको छ । संरचना क्षतविक्षत बनेका छन् ।

तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युतगृह हस्तान्तरण गर्ने क्रममा यो लघुजलविद्युत आयोजना भोजपुर विद्युत सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सिर्जना भएको समिति र प्राधिकरणबीच आपसी किचलोका कारण यो विद्युतगृह अलपत्र बनेको हो ।

जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युतगृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । आयोजनाले तत्कालीन समयमा २५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो । विद्युतगृह बन्द हुनुमा स्थानीयले पनि दुःखेसो गरेका छन् ।

विद्युतगृह २०३८ सालबाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युतगृह विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उक्त विद्युतगृह संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् ।

यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्ने सके आर्थिकरूपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–६ कोटमा पर्ने यो विद्युतगृहकाे पोखरी पनि जीर्ण बन्दै गएको छ ।

पानी ल्याउनका लागि प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ । आयोजना अलपत्र बन्दा यहाँ काम गर्दै आएकाले रोजगारीसमेत गुमाएका छन् । अहिले यहाँका अधिकांश उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।


Read Previous

अन्तर्राष्ट्रिय व्यापार कानून र अर्थशास्त्रको ज्ञान विकासका लागि केयुमा ‘डब्लूटीओ चेयर’

Read Next

‘हामी ७ महिनामा हरित हाइड्रोजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याउन सक्षम छौं’

Leave a Reply

Your email address will not be published.