Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

‘गाग्री जुलुश’ ले ल्याएको खानेपानी, जोगाएको काक्रे बजार


दाप्चा (काभ्रे) । वीपी राजमार्ग निर्माण नहुँदा पूर्वबाट काठमाडौ उपत्यका छिर्नेक्रममा दाप्चा बजार प्रवेश गर्ने काक्रे चर्चित ठाउँ हो । अनि पूर्वको रामेछाप ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सिन्धुली, उदयपुर अनि तराईका धेरै जिल्लाका वटुवाहरुको लागि चरुङेफेदी र दुवाकोटको ठाडो उकालोपछि विश्राम र कल कल पानी खाने ठाउँ पनि ।

वीपी राजमार्गपछि यो चर्चित बजारमा बटुवाहरु मात्र हराएनन, खानेपानीको चरम समस्या भएपछि गाउँनै उजाड हुने अवस्थामा पुग्यो । व्यापारका लागि भक्तपुरबाट यहाँ आएका धेरै व्यापारी त फर्किए, फर्किए, सदियौदेखि यहाँ बस्दै आएका काक्रे बासी पनि बसाई सर्न वाध्य भए ।

२०६२ सालमा तत्कालीन स्थानीय विकास अधिकारी उद्धव तिमल्सिना, तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका प्रमुख मनोज घिमिरे, युनिसेफ नेपालका काभ्रे प्रमुख ज्ञानु भुजेल, खानेपानी क्षेत्रमा कार्यरत शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखवुद्ध लामा लगायत सामु स्थानीय महिलाहरुले गाग्री जुलुश प्रर्दशनपछिको अवस्था यसरी परिवर्तन भयोकि २०६७ सालमा यहाँको घरघरमा आईपुग्यो । यसले रित्तिन लागेको काक्रे बजारलाई जोगाएन मात्र, धेरै बसाई सरेका पनि फर्कन थाले ।

स्थानीय विद्यालयको लागि पुगेका अतिथीहरु सामु स्थानीय महिलाले गाग्री जुलुशमार्फत पोखेको पीडाले व्यवसायका लागि भारत जान लागेका स्थानीय समाजसेवी मोहन श्रेष्ठलाई गाउँमै रोक्यो र उनी यसरी कस्सिए कि अहिले काक्रे मात्र होइन, दाप्चाका धेरै बजारसम्म पुग्ने गरी वृहत खानेपानी आयोजनाको कामनै सुरु भएको छ । तर १२ बर्ष अघिसम्म खानेपानीका लागि स्थानीयबासीले भोगेको खानेपानीको कथा कम्ती पीडादायी छैन ।

२०६२ सालमा तत्कालीन स्थानीय विकास अधिकारी उद्धव तिमल्सिना, तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका प्रमुख मनोज घिमिरे, युनिसेफ नेपालका काभ्रे प्रमुख ज्ञानु भुजेल, खानेपानी क्षेत्रमा कार्यरत शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखवुद्ध लामा लगायत सामु स्थानीय महिलाहरुले गाग्री जुलुश प्रर्दशनपछिको अवस्था यसरी परिवर्तन भयोकि २०६७ सालमा यहाँको घरघरमा आईपुग्यो । यसले रित्तिन लागेको काक्रे बजारलाई जोगाएन मात्र, धेरै बसाई सरेका पनि फर्कन थाले ।

काक्रेमा पानीको मुहान र कुवा परापुर्व कालदेखि नभएको होइत तर समयक्रमसँगै ती मुहान र कुवा सुक्न थाले । ४० बर्ष अघिदेखिनै यहाँ खानेपानीको समस्या देखिन थाल्यो । खनालथोक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठका अनुसार, २०४२ सालमा तत्कालीन प्रधानपञ्च हरिशंखर श्रेष्ठको पहलमा र युनिसेफको सहयोगमा नजिकैको पीपलचौरको ठूलो धाराबाट पानी ल्याएर तीन सय घरधुरीलाई खानेपानीको व्यवस्था गरिएको थियो । तर २०४५ सालको भुकम्पले पानीको मुहान सुक्यो । २०४८ सालतिर अलि अलि पानी पलाएपछि जेनतेन २०५४ सालसम्म खानेपानीको व्यवस्था भयो । २०५५ सालपछि मुल हराएपछि काक्रेमा चरम खानेपानी समस्या हुन सुरु थाल्यो । त्यसपछि एक घण्टा लगाएर पानी लिन भुलभुले जानुपर्ने अनि एक गाग्री पानी भर्नका लागि ८/९ घण्टा लगाउनुपर्ने अवस्था सिर्जना भयो ।

‘एक गाग्री पानीका लागि ९ घण्टा’

१२ बर्ष अघिसम्म नमोवुद्ध नगरपालिका–७ काक्रेकी ८१ बर्षीया सुनमाया श्रेष्ठको दिनचर्या थियो–बिहान १२/१ बजे उठ्ने र खानेपानी लिएर बिहान ८/९ बजे फर्कने । ‘बाँच्नु त पर्योनि, रात भरि पानी बोक्नुपर्दथ्यो, नगए एक थोपो पानी नहुने ।’ उनले ती दिनको दुःख सम्झँदै भनिन्, ‘पानीका लागि धेरै हण्डर खाईयो, एक थोपा पानी रगतभन्दा प्यारो थियो, लड्दै लड्दै तल जानुपर्ने ।’

यस्तै पीडादायी अवस्था भोगिन ७८ बर्षीया सावित्री खनालले । ‘रातभरि पानी बोक्नुपर्दथ्यो, नगए जिब्रो भिजाउने पानी पनि नहुने अवस्था थियो ।’ उनले भनिन, ‘छिमेकीले एक घुट्को पानी माग्दा पनि नदिने र आफूले पनि दिन नसक्ने अवस्था थियो ।’

‘पानीका लागि धेरै हण्डर खाईयो, एक थोपा पानी रगतभन्दा प्यारो थियो, लड्दै लड्दै तल जानुपर्ने ।’ –८१ बर्षीया सुनमाया श्रेष्ठ

‘पहिला यसरी रातभरि खानेपानी बोक्नुपर्दथ्यो भन्दा बुहारीले पत्याउँदैनन, उनीहरु कुरा सुनेर दंग पर्छन, खानेपानी ल्याउनका लागि गरेको दुःखको ठूलो भारीनै थियो, अहिले त धेरै सजिलो ।’– ७८ बर्षीया सावित्री खनाल

सावित्री र सुनमाया दुवैले कल्पना पनि गरेका थिएनन, घरभित्रै धारा आईपुग्छ भनेर । ‘पहिला यसरी रातभरि खानेपानी बोक्नुपर्दथ्यो भन्दा बुहारीले पत्याउँदैनन, उनीहरु कुरा सुनेर दंग पर्छन, खानेपानी ल्याउनका लागि गरेको दुःखको ठूलो भारीनै थियो, अहिले त धेरै सजिलो ।’ उनले भनिन् ‘घरभित्र पानी आउँछ, पहिले त कति सुख कति ।’

‘अहिले त घरभित्रै खानेपानीको धारा छ, यसरी पानी घरमै आउँला भनेर सोचकै थिइन, अचम्मै भयो ।’ सुनमायाले सुनाइन, ‘मेरो श्रीमान त खानेपानीको समस्या धेरै भएपछि बसाई सर्नका लागि जग्गा खोज्न हिड्नु समेत भएको थियो ।’

खानेपानीको पीडाले बसाईसराई

खानेपानीका लागि चरम समस्या भएपछि सुनमायाका श्रीमान श्रीकृष्ण श्रेष्ठ बसाई सराईका लागि थानकोट हुँदै चित्लाङ पुगेका थिए । ‘पानी विनै मर्ने अवस्था सिर्जना भएपछि म पनि जग्गा खोज्दै थानकोटभन्दा उता चित्लाङ पुगेको थिएँ ।’ ८२ बर्षीय श्रेष्ठले भने, ‘चित्लाङमा जग्गा नमिलेपछि यता पनि खानेपानी आउने भनेर भनेपछि यतै रोकियौ, पानी नभएको ठाउँमा को बस्छर ?’ सँगै बसेकी वृद्धा सुनमायालाई देखाउँदै उनले आफ्नो श्रीमतीले खानेपानीका लागि ठूलो दुःख गरेको सुनाए ।

श्रीकृष्ण त बसाई सरेनन तर यहाँका धेरै स्थानीयबासी खानेपानीकै कारण बसाई सरे । श्रीकृष्णका अनुसार, धेरैले खानेपानीकै कारण बसाई सराईको बाटो रोजे । उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठका अनुसार, झण्डै ५० घरधुरी खानेपानीकै कारण बसाई सरिसकेका थिए ।

‘पानी विनै मर्ने अवस्था सिर्जना भएपछि म पनि जग्गा खोज्दै थानकोटभन्दा उता चित्लाङ पुगेको थिएँ ।’ –८२ बर्षीय श्रीकृष्ण श्रेष्ठ

खानेपानीको चरम समस्यापछि धेरै स्थानीयबासीले खानेपानीका लागि कोशिस गरे । महेन्द्र खनाल, शम्भु खनाल लगायतका धेरैले यसका लागि प्रयास गरेका थिए । तर मुहानै नभएपछि खानेपानी ल्याउन त्यति सम्भवनै भएको थिएन ।

२०६२ सालमा सरस्वती प्राथमिक विद्यालयको बार्षिकउत्सवको लागि अघिल्लै दिन तत्कालीन स्थानीय विकास अधिकारी तिमल्सिना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका प्रमुख घिमिरे, युनिसेफ नेपालका काभ्रे प्रमुख भुजेल, खानेपानी क्षेत्रमा कार्यरत शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष लामासहितको पत्रकार टोली उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको घरमा बसेको थियो ।

भोलिपल्ट बिहान पत्रकारले खानेपानीका लागि डोकोमा गाग्री बोकेर हिडिरहेका महिलाको खानेपानीको समस्या थाहा पाएपछि जिल्लाका ठूला ठूला व्यक्ति आएका बताए । यसपछि उनीहरुलाई खानेपानीको चरम समस्या गाग्री जुलुशमार्फत देखाउने योजना बन्यो । खानेपानी थाप्नका लागि सधै जशो झगडा गर्ने महिलाहरु एक साथ गाग्री जुलुश देखाउन तयार भए ।

गाग्री जुलुशले ल्याएको खानेपानी

जिल्लाबाट आएका ठूला मान्छेहरु विद्यालयको बार्षिकउत्सवमा जानका लागि निस्कने बेलामा महिलाहरुले गाग्री जुलुश सुरु गरेका थिए । ‘खानेपानीको निहुँमा हाम्रो धेरै झगडा भैरहन्थ्यो तर त्यो दिन हामीले सबै मिलेर जिल्लाका ठूला ठूला हाकिमहरुको अगाडी गाग्री जुलुश निकाल्यौ ।’–जुलुशमा संलग्न पार्वती श्रेष्ठले भनिन्, ‘खानेपानीका लागि ९/१० बिताउनुपर्ने अवस्था थियो, कि खानेपानी खाना नपाएर मर्ने त कि घरनै छोडेर हिड्नुपर्ने अवस्था थियो, गाग्री जुलुशले ती हाकिमहरु त दंगनै परेका थिए तर यसैले गाउँसम्म खानेपानी ल्यायो ।’

‘खानेपानीका लागि ९/१० बिताउनुपर्ने अवस्था थियो, कि खानेपानी खाना नपाएर मर्ने त कि घरनै छोडेर हिड्नुपर्ने अवस्था थियो, गाग्री जुलुशले ती हाकिमहरु त दंगनै परेका थिए तर यसैले गाउँसम्म खानेपानी ल्यायो ।’–पार्वती श्रेष्ठ

गाग्री जुलुशले सबैभन्दा अप्ठेरो परे समाजसेवी मोहन श्रेष्ठ । उनले बोलाएका थिए अतिथीहरुलाई र राखेका थिए आफ्नो घरमा तर फूलमालासहितको भव्य स्वागतको लागि तयारी गरिसकेका अतिथीहरुले बाटोमै रित्तो गाग्री जुलुशको स्वागत पाए । ‘मैले मेरो गाउँमा यसरी रित्तो गाग्रीको जुलुश हुन्छ भनेर सोचेकी थिँइन, सबै अतिथीहरु सामु मलाई अप्ठेरो भयो ।’ उनले भने, ‘गाग्री जुलुशपछि म रातभर निदाउन सकिँन, जसरी पनि खानेपानी ल्याउने अठोट गरे ।’
जसरी पनि खानेपानी ल्याउनुपर्ने भएपछि उनी खानेपानीको सम्भावनाबारे दौडन थाले । उनलाई सचिव यशोदा खनाल, कोषाध्यक्ष कृष्णप्रसाद खनाल लगायतले ठूलो साथ थिए । गाग्री जुलुश गरेकै बर्ष जिल्ला विकास समिति र खानेपानी तथा डिभिजन सरसफाई कार्यालयले हल्देबाट लिफ्टिङ गरी खानेपानी ल्याउनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गर्न सहयोग गर्यो ।

यहाँको खानेपानीका लागि १ करोड १३ लाख १८ हजार बजेट आवश्यक देखियो । उनी र उनको समूह बजेटका लागि धाउन थाल्यो । ‘रोटरी क्लब, धुलिखेल अस्पताल, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय, सबै दलका पार्टी कार्यालयहरु, खानेपानी तथा सरसफाई कार्यालय सबैतिर धाएँ ।’ उपभोक्ता समितिका अध्यक्ष रहेका श्रेष्ठ सम्झिन्छन्, ‘सबै खानेपानी र सहरी विकास मन्त्री, स्थानीय विकास अधिकारी, डिभिजन कार्यालयका प्रमुखहरु, हाम्रै क्षेत्रमा सरकारी निकायमा उच्चस्थानमा पुगेका राजन खनाल, गोपी खनाल धेरैलाई भेटे, दुई बर्ष कुदेपछि बल्ल बजेट आउन थाल्यो ।’

सुरुमा अध्ययनका लागि जिल्ला विकास समितिले तीन लाख सहयोग गर्यो भने त्यसपछि धुलिखेल अस्पतालले ४० लाख सहयोग गर्यो । स्थानीय उपभोक्ता समितिका अनु्सार, सुरुमा हल्देबाट ३ किलोमिटर लिफ्ट गरेर ८० घरधुरीका लागि २०६७ सालमा खानेपानी आयो । यसपछि भुलभुले र रोशी खोलाबाट १० किलोमिटर लिफ्ट गरी २८० घरधुरीलाई खानेपानीको व्यवस्था गरिएको छ । यसमा योजना आयोग र डिभिजन कार्यालयले बजेट सहयोग गरेको थियो ।
खानेपानी योजनाका लागि बजेट आएपनि योजना अघि बढाउनका लागि आवश्यक सडक निर्माणका लागि बजेट नआएपछि आफू व्यवसायी भएको नाताले चार किलोमिटर सडक बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘योजना त बनाउनका अलि अलि बजेट आयो तर सडक बनाउनका लागि जिविसबाट ४ लाख र गाविसबाट दुई लाख मात्र आयो, ५० लाखको अनुमान थियो ।’ उनले भने, ‘मेरो आफ्नो डोजर लगाएर र इन्धन किनेर बनाईदिएँ, त्यो पैसाका लागि कसैले बजेट दिँदैनन, मेरो व्यक्तिगत खर्चनै भएको छ ।’

८० घरधुरीमा खानेपानी आएपछि यहाँको तल्लो हटिया, कामीटोल लगायतका क्षेत्रका स्थानीयबासीले आफूहरुले खानेपानी नपाएको भन्दै विरोध गर्न थाले । यसले स्थानयिस्तरमा ठूला तनाव सिर्जना हुन थाल्यो । १० लाख पीपीआर बराबरको पाइप भएमा ठूलोधारादेखि सत्याल डाँडासम्म खानेपानी पुग्ने भएपछि दुई बर्षभित्र तिर्ने गरी २ हजारदेखि ५० हजारसम्म ऋण लिएर खानेपानी सुविधा पुर्याएको र केही अझै पनि ऋण तिर्न बाँकी रहेको उनी बताउँछन् ।
उपभोक्ता समितिका अनुसार, अहिले भुलभुले र रोशीबाट लिफ्ट गरी ल्याएको खानेपानी ३५० घरधुरीले उपयोग गरिरहेका छन् भने यसका लागि धेरै संरचना पनि निर्माण भएका छन् । नमोवुद्ध नपा–७ भदौरेका भीमबहादुर तामाङ चरम समस्या भएको गाउँमा खानेपानी आएपछि धेरै सहज भएको बताउँछन् ।

अब वृहत खानेपानी

पुरानै संरचना समेतको उपयोग गरेर तथा नयाँ संरचना निर्माण गर्ने गरी अहिले सो क्षेत्रमा भकुण्डेवेशी खनालथोक खाक्सी दाप्चा वृहत खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागले यसका लागि करिब २२ करोड बराबरको बजेट समेत छुट्याएको छ । यसकै आधारमा टेण्डर आह्वान गरेर १६ करोड बराबरमा निर्माण व्यवसायी कम्पनी समेत छनोट भैसकेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ खानेपानी आयोजनाको लागि ठेक्का भई निर्माणको चरणमा गएको बताउँछन् । ‘दुई बर्षभित्र सम्पन्न हुने आयोजनाबाट नमोवुद्ध नपा–६,७ र ८ का १ हजार ५ सय ७९ घरधुरी र ८ हजार ५४ जनसंख्याले खानेपानी सुविधा पाउनेछन् ।’ उनले भने ‘१ हजार ८ सय ७१ घरधुरी र ९ हजार ३ सय ५० घरधुरीलाई खानेपानी सुविधा पुग्ने गरी डिजाइन गरिएको छ ।’

‘दुई बर्षभित्र सम्पन्न हुने आयोजनाबाट नमोवुद्ध नपा–६,७ र ८ का १ हजार ५ सय ७९ घरधुरी र ८ हजार ५४ जनसंख्याले खानेपानी सुविधा पाउनेछन् । १ हजार ८ सय ७१ घरधुरी र ९ हजार ३ सय ५० घरधुरीलाई खानेपानी सुविधा पुग्ने गरी डिजाइन गरिएको छ ।’’

 

आयोजनाबाट भण्डारे, छुछुन्द्रे डाँडा, अस्पताल डाँडा, काक्रे, धुवाकोट, थुम्का डाँडा, सत्याल डाँडा, हर्कपुर, ढोडनी, राजबम पोखरी र भकु्ण्डेवेशीका लागि खानेपानी सुविधा पुग्नेछ । सन् २०२३ भित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको लागत भ्याट र ओभरहेडसहित २९ करोड ९० लाख तथा भ्याटबाहेक २१ करोड ८२ लाख अनुमान गरिएको छ । यसमा समुदायको १० प्रतिशत अर्थात २ करोड ९९ लाख सहभागित हुनेछ । खानेपानीको पर लिटर लागत मात्र ३२४ रुपैयाँ छ ।

भकुण्डेवेशी खनालथोक खाक्सी दाप्चा वृहत खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार, रोशीको भूल भण्डारे र सिस्नेबाट १६ किलोमिटर लिफ्टमार्फत दाप्चाको डाँडामा खानेपानी ल्याउन लागिएको छ ।

खानेपानीले फर्कायो गाउँमै

खानेपानीकै चरम समस्या भएपछि गाउँ छोडेका नमोवुद्ध नपा–७ का ४३ बर्षीय दीपक खनाल फेरि गाउँ फर्किएका छन् । ‘खानेपानीकै लागि रातभरि पानी बोक्नुपर्दे अवस्था थियो, दिनहुँ पानी बोक्दाको डडाल्नुमा खत अझै छ, गाईवस्तु पनि पाल्न सकिएन, त्यसपछि बसाई तल झरेको थिएँ ।’ उनले भने, ‘, यति स्वर्गजस्तो गाउँ छोडेर गएको थिएँ, खानेपानी आएपछि फेरि गाउँमै फर्केको छु, खानेपानी नआएको भए फर्कने अवस्था हुँदैनथ्यो ।’
उनी मात्र होइन, गाउँबाट विष्थापित धेरै फेरि गाउँ फर्कन थालेका छन् । ‘२५/३० घरधुरी त गाउँ फर्किसकेका छन्, उनी पनि आउनेक्रममा छन् ।’–उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘पहिला सुरुमा तीन हजार प्रत्येक उपभोक्ताले उठाएर खानेपानी योजना बनाएका थियौ, अहिले गाउँ फर्केर आउनेले ३० हजार समेत तिर्न तयार भएका छन् ।’

‘खानेपानीकै लागि रातभरि पानी बोक्नुपर्दे अवस्था थियो, दिनहुँ पानी बोक्दाको डडाल्नुमा खत अझै छ, गाईवस्तु पनि पाल्न सकिएन, त्यसपछि बसाई तल झरेको थिएँ । यति स्वर्गजस्तो गाउँ छोडेर गएको थिएँ, खानेपानी आएपछि फेरि गाउँमै फर्केको छु ।’ –४३ बर्षीय दीपक खनाल

खानेपानीले धेरैलाई गाउँ फर्काएको मात्र छैन, यहाँको जग्गाको भाऊ पनि ह्वात्तै बढेको छ । वृद्धा श्रेष्ठका अनुसार, पहिला आफू बसाई सराईका लागि जग्गा बेच्न खोज्दा २० हजार आना पनि नपाएको र अहिले ५ लाखमा सजिलै विक्री हुन थालेको छ ।

‘गाग्री जुलुशले भारत जानै रोक्यो’

समाजसेवी मोहन श्रेष्ठ

उहाँहरुलाई फूलमालासहित स्वागत गर्ने कार्यक्रम अघिनै रित्तो गाग्री जुलुशको स्वागत जस्तै भयो । सबैले मतिर हेर्न थाल्नुभयो । मलाई त साह्रै अप्ठेरो पर्यो ।

गाउँको सरस्वती प्राविको बार्षिकउत्सवको लागि तत्कालीन स्थानीय विकास अधिकारी उद्धव तिमल्सिना, तत्कालीन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका प्रमुख मनोज घिमिरे, युनिसेफ नेपालका काभ्रे प्रमुख ज्ञानु भुजेल, खानेपानी क्षेत्रमा कार्यरत शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखवुद्ध लामासहित धेरै पत्रकारहरुलाई बोलाइएको थियो । अघिल्लो दिन काक्रेस्थित मेरो घरमा बस्ने र भोलिपल्ट बिहान विद्यालयको बार्षिकउत्सव मनाएर फर्कने कार्यक्रम थियो ।

अतिथीहरुलाई बेलुको सत्कार सकेर सुतियो । बिहान सामान्य चिया खाएर विद्यालयको बार्षिकउत्सवमा हिडेका थियौ । त्यतिबेलानै महिलाहरुले उहाँहरुलाई रित्तो गाग्री जुलुश देखाउनुभयो । मैले उहाँहरुले यसरी गाग्री जुलुश गर्नुहुन्छ भनेर सोचेको पनि थिएन । उहाँहरुलाई फूलमालासहित स्वागत गर्ने कार्यक्रम अघिनै रित्तो गाग्री जुलुशको स्वागत जस्तै भयो । सबैले मतिर हेर्न थाल्नुभयो । मलाई त साह्रै अप्ठेरो पर्यो । मैले उहाँहरुलाई रित्तो गाग्री जुलुश देखाउन ल्याएको त थिइन तर उहाँहरुले जिस्के जस्तो गरेर गाग्री जुलुश पनि देखाउनुभयो भन्नुभयो तर केही भन्नुभएन ।

गाग्री जुलुश देखाएको रातभर निद्रा लागेन । खानेपानीको चरम समस्या छ भन्ने थाहा थियो तर गाग्रीनै जुलुश गरेपछि त मलाई धेरै फरक अनुभव भयो । त्यतिबेला पञ्चकन्या ग्रुपका प्रदीप श्रेष्ठले भारतमा चिनीयाँ ठेकेदारले लिएको काम गर्नुपर्छ, तपाई पनि त्यहाँ काम जानुपर्छ भनेर भन्नुभएको थियो । हुन्छ पनि भनेको थिएँ तर त्यो जुलुशपछि जसरी पनि खानेपानीको लागि लाग्छु भनेर अठोट बनाएँ । भारत जान मनले मानेन । गएको भए मेरो व्यवसायिक जीवनमा धेरै प्रगति हुन्थ्यो होला तर त्यसपछि मलाई गाउँमा खानेपानी जसरी ल्याउनैपर्ने दबाब बढ्यो ।
गाग्री जुलुशपछि जिविस र खानेपानी डिभिजन कार्यालयले लिफ्टमार्फत खानेपानी ल्याउन सकिने बताउँदै यसको डीपीआर तयारीका लागि सहयोग गर्यो । रित्तो गाग्री देखाउनु नराम्रो भएपनि यसले लिफ्टमार्फत खानेपानी ल्याउन सकिने देखियो । म, उपभोक्ता समिति सचिव यशोदा खनाल, कोषाध्यक्ष कृण्ण खनाल लगायत निरन्तर लाग्यौ ।

डीपीआर त तयार भयो तर आयोजनाका लागि १ करोडभन्दा बढी पैसा चाहिने भनियो, यति धेरै पैसा कहाँबाट ल्याउनुभयो । त्यसपछि गाविस, जिविस, रोटरी क्लब, धुलिखेल अस्पताल, खानेपानी डिजिभन, विभाग, मन्त्रालय तथा सबै मन्त्रीहरुदेखि गाउँमा सरकारीस्तरमा माथिल्लो तहमा पुगेका राजन खनाल, गोपी खनाल लगायत धेरै कहाँ अनुरोध गर्न पुगे । दुई बर्ष धाउँदा धाउँदै बल्ल योजना आयोग र मन्त्रालयले बजेट हाल्न थाले । सुरुमा धुलिखेल अस्पतालले गरेको ४० लाखको सहयोगमा २०६७ सालमा ८० घरधुरीलाई खानेपानी आयो । यसपछि २ सय घर थपिए, अहिले ३५० घरधुरी छन् । फेरि अहिले वृहत खानेपानी आयोजना भनेर २२ करोड बजेट आएको छ, यसले दाप्चाका धेरै ठाउँमा खानेपानीको सुविधा पुग्छ ।

खानेपानी आयोजना बनाउँदा धेरै हण्डर र पीडा खेप्नुपर्यो । सुरुमा त तलको पानी लिफ्ट गरेर माथि डाँडामा खानेपानी ल्याउन सकिन्छ र भनेर धेरै पत्याएनन तर प्राविधिक अध्ययन गरेकोले ढुक्क थिएँ । खानेपानी योजनाको लागि थोरै भएपनि बजेट त छुटियो तर त्यहाँ सामान लैजानका लागि सडक थिएन । बजेट कहीबाट नपाएपछि मैले आफ्नै डोजरले बाटो खने । त्यो बेला मलाई ज्यान मार्ने धम्की पनि दिइयो । ढुंगामा मोहन तेरो काल आयो भनेर लेखिएको पनि थियो । ज्यान तलमाथि हुन्छ भनेर त्यो ढुंगा गाडीमा हालेर धुलिखेल प्रहरीमा लगेर सुरक्षाका लागि गुहार समेत माग्नुपरेको थियो । यति मात्र होइन, खानेपानीमा भ्रष्टाचार गरेको भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि पर्यो । उहाँहरुले आएर सबै हेर्नुभयो तर कैफियत कतै देखिएन । उल्टो व्यक्तिगत रुपमा मेरो धेरै लगानी भएको थियो । जे जति हण्डर खानुपरेपनि खानेपानी आएपछि भने म खुशी छु । धेरैले मोहनले पानी ल्याएर धेरै गुण लगायो भनेर भन्छन् ।

उपभोक्ता समितिबाट खानेपानी सञ्चालन गर्न गाह्रो छ । ३५० देखि ७ सय ५० सम्म महशुल लिँदा पनि उपभोक्ता समितिलाई घाटा छ । एकपटक मर्मत सम्भारका लागि भारतसम्म पुगेर एक जनालाई ल्याएर मर्मत गर्नुपरेको थियो । यो धेरै महंगो छ । खानेपानीका लागि लिफ्ट गर्दा धेरै छुट दिनुपर्ने व्यवस्था विद्युत प्राधिकरणले नगर्ने र मर्मत सम्भारका लागि सरकारले सहयोग नगर्ने हो भने खानेपानी उपभोक्ता समिति सञ्चालन गर्न कठिन छ । ५/६ जना कर्मचारी राखेर कसरी सम्भव हुन्छ ?


Read Previous

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू

Read Next

जापानले सिचाइ र प्रशारण प्रणाली सुधारका लागि १६ अर्ब अनुदान र सहुलियत ऋण सहयोग गर्ने

Leave a Reply

Your email address will not be published.